बागलुङ/बलेवा क्षेत्रका मूर्धन्य शैक्षिक तथा सामाजिक व्यक्तित्व उमानाथ शर्मा पौडेलको स्मृतिमा स्थापित उमानाथ प्रतिष्ठानले आज एक समारोहका बीच दर्जनौं विद्यार्थीहरूलाई छात्रवृत्तिका साथै विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै स्वर्गीय उमानाथ शर्माका काँहिला सुपुत्र एवं राजनीतिक तथा सामाजिक व्यक्तित्व शालिग्राम पौडेलले आफ्नो वुवाको सामाजिक प्रेरणाको कारण आफू आज यो अवस्थामा आइपुगेको वताउँदै वावु उमानाथ शर्माले शैक्षिक तथा सामाजिक विकासका लागि पुर्याएको योगदानको सम्झनाका लागि पनि प्रतिष्ठान स्थापना गरेर विभिन्न विधामा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको जानकारी दिनुभयो । प्रतिष्ठानमार्फत आजभन्दा ३३ बर्ष पहिले रू ३ हजार रूपैयाँबाट शुरू भएको उक्त पुरस्कारको राशी अहिले १२ लाख रूपैयाँ पुगेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा उमानाथ शर्माका सुपुत्र प्रकाश शर्मा पौडेलले आफ्नो वुवाको समाजमा असल मान्छे उत्पादन गर्ने परिकल्पना अनुसार यो पुरस्कार स्थापना गरिएको र असल आमा र असल हजुरआमाहरूलाई समेत यो पुरस्कार प्रदान गरिँदै आएको जानकारी दिनुभयो । उहाँले धेरै शिक्षा पाएका नागरिकहरू समाजमा भएपनि समाज निर्माण गर्ने संकल्प भएका असल नागरिकहरूको कमी भएकाले पनि यो पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूले भोलिका दिनमा समाजमा असल काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका संयोजक मुकुन्द शर्मा पौडेलले विगतमा कोरोनाको कारण कार्यक्रम गर्न नसकिएको जानकारी दिँदै आगामी दिनमा पुरस्कारको दायराई अझै फराकिलो बनाउदै लग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो पुरस्कार शिक्षा, समाज, कृषि र पर्यटन लगायतका विधामा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई प्रदान गरिँदै आएको वताउनु भयो ।
कार्यक्रममा बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्त, नेकपा एमालेका गण्डकी प्रदेश सदस्य उमानाथ शर्मा, नेकपा माओवादी केन्द्रका अध्यक्ष रेशमबहादुर खत्री र समाजसेवी डाक्टर रामबहादुर केसी लगायतले बोल्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चुडामणि शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव दीपेन्द्र पौडेलले र स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य ओमप्रसाद शर्मा घायलले गर्नुभएको थियो । यसैगरी संस्थाको साधारण सभा तथा अधिवेशन पनि आजै सम्पन्न भएको छ । अधिवेशनले आगामी ३ बर्षको लागि हेमराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।








