पर्वत/नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कका नरबहादुर रोकालाई ०७९ कार्तिक २३ गते राती नै गिरफ्तार गरेको छ । लगायत अन्य तीन जना व्यक्तिहरुबाट कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्वरको जीपमा कार्तिक २३ गते राति आगजनीको प्रयास भएको थियो । चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँंगामुडा सहित आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले जानकारी दिनुभयो । उहाँले जनताको घरमा नै बास बसिरहेको बेलामा केहि युवाहरुले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र आफूहरु माथि सांघातिक आक्रमणको प्रयास भएको बताउनुभयो ।
उम्मेदवार कुँवरले प्रयोग गर्ने गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो । डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएता पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । टायर, लाइट र ढोकाहरुमा आगोले क्षति पुर्याएको छ । गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएको उम्मेदवार कुँवरले बताउनुभयो । आगाजनीमा संलग्न अन्य दुई जना युवाहरु भने फरार रहेको डिएसपी न्यौपानेले बताउनुभयो । घटनामा संलग्न युवाहरुको खोजी भईरहेको बताउँदै नियन्त्रणमा रहेका रोकालाई मुलुकी ऐन फौजदारी संहिताको अपराधिक उपध्रो मुद्धामा कार्बाही माग गर्ने गरी म्याद थप गरिएको न्यौपानेले उहाँले बताउनुभयो । उमेदवार माथि आक्रमणको प्रयास भएपछि पर्वत जिल्लाको सुरक्षा प्रशासनमा चुनौति थपिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले घटनाले सुरक्षाका सबालमा थप सचेत बनाएको बताउँदै निर्वाचनमा उम्मेदवार बनेका सवै राजनीतिक दल तथा उम्मेदवारहरुलाई आफ्नो निर्वाचन कार्यक्रमको यथार्थ विवरण प्रशासन कार्यालयमा उपलब्ध गराउन पत्राचार गरिएको बताउनुभयो । उहाँले फरार रहेका आरोपितहरुको तिब्र रुपमा खोजी भइरहेको बताउनुभयो ।






