अविरल वर्षाका कारण पर्वतका ग्रामीण सडक हिलाम्मे र कष्टकर

पर्वत/विगत तीनदिन देखिको अविरल बर्षातका कारण पर्वत जिल्लाका ग्रामीण सडकहरु हिलाम्मे र कष्टकर भएका छन् । बडादशैको अघिल्लो दिन देखि परेको अविरल बर्षातका कारण ग्रामीण सडकहरुमा गएका पहिरोहरुका कारण सडकमा सवारी सञ्चालन गर्न समस्या परेको छ ।

निरन्तर भइरहेको बर्षातका कारण सडकहरुमा खसेका साना पहिरोहरु तत्काल हटाउन नसक्दा ग्रामीण सडकहरुको यात्रा कष्टकर बनेको हो । विगत ३ दिन देखि पर्वत लगाएत देशका विभिन्न भागमा भिषण बर्षात भईरहेको छ । बर्षातले यस बर्षको वडा दशैंमा टिका लगाउन हिडेका यात्रुहरु समेत समस्यामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा बर्षातका कारण घरहरुमा क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भने भएको छैन् । पहिरोका कारण जिल्ला भरका दर्जन बढि घरहरु जोखिममा रहेको र केहि घर तथा बस्तीमा क्षति पुगेको कुरा भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उल्लेख गरेका छन् । प्रहरी कार्यालयमा क्षतिको जानकारी नभएका कारण क्षति भएको कुरा पुष्टि गर्न नसकिने प्रहरीको भनाई छ ।

बर्षातका कारण मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर लगाएतका सडकहरुमा पटक पटक पहिरो खस्ने र त्यसको ब्यवस्थापन गरी सडक खुलाउने काम भने भईरहेको प्रहरीको भनाई छ ।