पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनताले दिएको दुई तिहाई मत कम्युनिष्टहरुलाई गलपासो भएको वताउनु भएको छ । नेपाली काँग्रेस जलजला वडा नं ४ को वडा कार्यसमितिले सोमवार फड्केढुङ्गामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले उक्त कुरा वताउनु भएको हो ।
नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष समेत रहेका मल्लले कम्युनिष्ट सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको कारण कार्यकर्तामा निरासा बढ्दै गएको दाबी गर्दै यो वेला काँग्रेसका नेता कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ संगठन सुदृढिकरण अभियानमा लाग्न सुझाव दिनुभएको थियो । ‘आफ्नै दम्भ र अहंकारका कारण नेकपा पार्टी र उसले नेतृत्व गरेको सरकार पतनको दिशातर्फ उन्मुख छ, यो वेला दृढतापूर्वक जनताको घरदैलोमा पुग्नुहोस् र निराश नेकपा कार्यकर्तालाई काँग्रेसमा आउन आह्वान गर्नुहोस् ।’- काँग्रेस युवा नेता मल्लले भन्नुभयो ।
अध्यक्ष मल्लले स्थानीय तहको अधिकार पनि केन्द्र र प्रदेश सरकारले कब्जा गरेर देशलाई दोहन गरेको आरोप लगाउँदै सिमित श्रोत र साधनको कारण जनतालाई संघीय गणतन्त्रको अनुभूति दिन नसकिएको वताउनु भएकोथियो । उहाँले सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्ने कसम खाएर सत्तामा पुगेको कम्युनिष्ट सरकारले देशलाई भ्रष्टाचार र अपराधको अखडा बनाएकोले देशभर काँग्रेसको पक्षमा जनलहर बढ्दै गएको दाबी समेत गर्नुभएको छ ।
विभिन्न संघ संस्था र संगठनको नाममा व्यक्तिगत रूपमै लाखौं लाख रूपैयाँ सहयोग गर्दै आउनु भएका काँग्रेस युवा नेता मल्लले नेपाली कांग्रेस जलजला-४ को वडा कार्यालय भवन निर्माणका लागि सोमबार १० लाख रूपैयाँ बराबरको जग्गा निशुल्क उपलब्ध गराउनु भएको छ । मल्लकै संयोजकत्वमा डेढकरोडको लागतमा नेपाली काँग्रेस जलजलाको पार्टी कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको छभने नेपाली कांग्रेस पर्वतले निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि समेत जलजला गाउँपालिका र आफ्नो व्यक्तिगत गरि मल्लले २५ लाख भन्दा बढि आर्थिक सहयोग गरिसक्नुभएको वताउनु भएको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दैनेपाली काँग्रेसका नेता एवं जलजला गाउँपालिकाका वडा नं ४ का वडाअध्यक्ष भीष्म मल्लले जनतालाई झुट्टा आश्वासन देखाएर नभइ गुणस्तरीय सेवा दिएर आफ्नो पक्षमा आकर्षित गर्ने तरिकाले आफूहरू जलजलामा लागि परेको वताउनु भएको थियो ।
नेपाली काँग्रेस जलजला-४ का वडासभापति मेघनाथ पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन पार्टी सचिव प्रकाश मल्लले गर्नुभएको थियो भने कार्यक्रममा कांग्रेसका स्थानीय नेता खड्कराज रेग्मी, पार्टीका सल्लाहकार लोकबहादुर जिसी र सदस्य डम्बरबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस जलजलाले साविकका सबै वडाहरूमा समेत संगठन विस्तार गर्न लागेको वताइएको छ ।






