जलजलाका १६ जना कृषकलाई ४२ हजार कमन कार्प भुरा वितरण

पर्वत/जलजला गाउँपालिकाले आत्मनिर्भर समाजको निर्माण गर्न र घरघरमा स्वरोजगार सिर्जना गर्न कृषि र पशुपालनमा विशेष जोड दिने भएको छ । विश्वभर फैलिएको कोरोना महामारी र त्यसबाट अर्थतन्त्रमा पर्ने नकरात्मक असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आय आर्जनका कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । ‘गाउँको आर्थिक अवस्थालाई बलियो बनाउन र रोजगारीको अवसर सिर्जना गर्न कृषि र पशुपालनमा विशेष अनुदानको व्यवस्था गरिएको छ ।’- अध्यक्ष मल्लले भन्नुभयो ।

यही कार्यक्रम अन्तरगत गाउँपालिकाले शुक्रबार मात्रै ४२ हजार कमन कार्प जातका भुरा वितरण गरेको छ । पशु सेवा शाखा पर्वतकाे आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अन्तरगत १६ जना कृषकका २४ वटा पोखरीका लागि भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले कृषकको मागका आधारमा अझै ३५ हजार भुरा खरिद गरि वितरण गर्ने तयारीमा रहेको संयोजक श्रेष्ठले वताउनु भयो ।