काँग्रेस युवा नेता मल्लद्वारा पर्वतका सबै स्थानीय तहलाई व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री हस्तान्तरण

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरि विभिन्न स्थानीय तहका प्रमुखहरूलाई वितरण गर्नुभएको हो ।

अध्यक्ष मल्लले तापक्रम नाप्ने थम्रोग्राफ, मास्क, सेनिटाईजर र ग्लोब्स लगायतका सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । उहाँले आइतबार पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल र मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेललाई ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष मल्लले फलेवास नगरपालिका र विहादी गाउँपालिकालाई यसअघिनै स्वास्थ्य सामग्री सहयोग गरिसक्नुभएको छ ।

समग्र विश्व समुदाय कोरोना भाईरस अर्थात कोभिड-१९ को महामारीबाट आक्रान्त भएको वेला अध्यक्ष मल्लले देखाएको मानवीय भावना प्रशंसनीय भएको पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले वताउनु भयो । अध्यक्ष मल्लले शुरूवाती चरणबाटै कोरोना भाईरस विरूद्धको अभियानमा आफूलाई समर्पित गर्दै आउनुभएको छ । उहाँले राहत तथा स्वास्थ्य सामग्री र सबारी व्यवस्थापनमा व्यक्तिगत रुपमै पाँच लाख भन्दा बढिको आर्थिक योगदान गरिसक्नुभएको छ । आफू जलजला गाउँपालिकाको अध्यक्ष भएपनि पर्वतका सबै स्थानीय तहप्रति मल्लले देखाएको हार्दिकताको सबैतिर प्रशंसा भएको छ ।