कोरोनाको कहरमा पनि जनताको सुख दुःख बुझ्न काँग्रेस नेता मल्ल घरदैलोमा

पर्वत/नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफन्तजन गुमाएका र विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई भेट्न नियमित जनताको घरदैलोमा पुग्नुभएको छ । नेता मल्लले पार्टीका कार्यकर्ताको घरघरमा पुगेर परिवारजनलाई समबेदना प्रकट गर्नुका साथै कोरोनाको कहरमा जनताहरूको पछिल्लो अवस्था विश्लेषण गरेर उनीहरुलाई आत्मनिर्भर बनाउने नयाँ कार्यक्रम ल्याउने जानकारी समेत दिनुभयो । शनिबार मात्रै नेता मल्लले हालै निधन भएका जलजला वडा नम्बर ५ का डिलकुमारी कार्की, जलजला–५ अन्यचौरका तुलसीराम पौडेल, जलजला–५ का देउकुमारी सुबेदीको घरमा पुगेर परिवारजनमा समबेदना दिनुभयो भने धेरैको घरदैलोमा पुगेर जनताको अवस्था बुझ्नुभएको थियो ।

यसैबीच कार्कीको निधन भएको १३ औ दिनमा शनिबार नेपाली काँग्रेस जलजला ५ लेखफाँटले आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै काँग्रेस जिल्ला कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष मल्लले हरेक गाउँपालिकाबासीको दुःख र पीडामा आफुसँगै रहेको बताउनु भयो । उहाँले निधन भएकाको चिरशान्तिको कामना गर्दै परिवारजनलाई परेको पीडालाई शक्तिमा बदलेर अगाडी बढ्न पनि आग्रह गर्नुभएको थियो ।

कोरोना महामारीका कारण सामाजिक दुरी कायम गरेर आयोजना गरिएको श्रद्धाञ्जलीसभामा नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसी, नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव जितबहादुर पुन, जलजला ५ का सभापति हरिप्रसाद शर्मा, सचिव एवम् जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार याम शर्मा पौडेल, कार्कीका नाती एवम् नेपाल तरुण दल जलजला ५ का अध्यक्ष रामचन्द्र कार्कीलगायतले बोलेका थिए ।