जलजलामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढ्दै

पर्वत/नेकपाको सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै नेकपाका कार्यकर्ताहरू पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर बढेको छ । शनिबार शालिजामा आयोजित एक कार्यक्रममा नेकपा परित्याग गरि डेढदर्जन व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेकपाका स्थानीय कार्यकर्ता तिलकुमारी सुवेदी, रेखा मल्ल सापकोटा, चण्डीप्रसाद सुवेदी र दण्डपाणी सुवेदी लगायतका कार्यकर्ताहरू प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई नेपाली काँग्रेस पार्टीको नयाँ सदस्यता प्रदान गर्दै नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जनतालाई ढाँटेर सत्तामा पुगेको नेकपाको सरकारप्रति आफ्नै कार्यकर्ताहरूमा निराशा र वितृष्णा बढ्दै गएकोले पार्टी परित्याग गर्ने लहर बढेको दाबी गर्नुभयो ।

काँग्रेस युवा नेता मल्लले चुनावअघि उधारो सपना बाँडेर जनमत आर्जन गरेको नेकपा सरकारले जनताको अभिमतमाथि कुठाराघात गरेको समेत आरोप लगाउनु भयो । अध्यक्ष मल्लले जनताको अपनत्व र आत्मसम्मान हुनेगरि नयाँ बजेट ल्याउन सरकारलाई आह्वान समेत गर्नुभएको थियो । अध्यक्ष मल्लले समग्र विश्व समुदाय यतिखेर कोरोना भाईरस र कोभिड-१९ बाट आक्रान्त भएको उल्लेख गर्दै यस्तो बिषम घडीमा पनि सरकारले जनतालाई उपचार र राहतमा ध्यान दिनुको सट्टा स्वास्थ्य सामग्री खरिदमा समेत कमिशन खाएर मानवीय संवेदनाहीन काम गरेको आरोप लगाउनु भयो । अध्यक्ष मल्लले नेपाली काँग्रेस सामाजिक न्याय र आर्थिक समृद्धि सहितको नागरिक सर्वोच्चताको पक्षमा संघर्षरत रहेको उल्लेख गर्दै जनअधिकार सहितको नयाँ नेपाल निर्माणका लागि नेपाली काँग्रेसको विचारमा आवद्ध हुन सबैलाई अपिल गर्नुभयो । उहाँले जलजलाको विकास र जलजला बासीको आर्थिक समृद्धि नै आफ्नो मूख्य एजेन्डा भएकोले गाउँपालिकाले थालेका विकासको सकरात्मक अभियानलाई सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

नेपाली काँग्रेस शालिजाका सभापति बलबहादुर पूर्जाको सभापतित्वमा भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुन, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, नेपाली कांग्रेसका क्षत्रीय सहसचिव जीतबहादुर मगर पुन, शालिजाका पूर्व गाविस अध्यक्ष ज्ञानबहादुर पाइजा, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं काँग्रेसका युवा नेता याम शर्मा पौडेल, जलजलाका काँग्रेस नेता बुद्धिप्रसाद सुवेदी, नेपाली कांग्रेस लेकफाँटका सभापति हरिप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेसका प्रतिनिधि काशीराम सुबेदीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाली कांग्रेस शालिजाका सचिव इन्द्रप्रसाद सुवेदीले गर्नुभएको थियो । सामाजिक दूरी कायम गरेर आयोजना गरिएको उक्त कार्यक्रममा शालिजाका सयौं काँग्रेस कार्यकताहरुले नव आगन्तुक व्यक्तिहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस जलजला-६ शालिजा गाउँ कार्य समितिको भवन निर्माणका लागि पाँच लाख बराबरको जग्गा निशुल्क उपलब्ध गराउने स्थानीय काँग्रेसका कार्यकर्ता सदानन्द उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि मल्लले सम्मान गर्नुभएको थियो ।