छैठौँ पर्वत महोत्सव शुरू: पर्वतको पहिचान र समृद्धिका लागि महोत्सव फलदायी हुने वक्ताहरुको धारणा

पर्वत/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्योगधन्दा मार्फत मुलुकमा सम्मृद्धि ल्याउनुपर्ने बताउनुभएको छ । विहिवारखि सुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले उद्योग धन्दा विना मुलुकमा समृद्धि नआउने भन्दै उद्योग स्थापनाका लागि पहल गर्न उद्योग बाणिज्य संघलाई आग्रह समेत गर्नुभयो । उहाँले जिल्लामा एक गाउँपालिका एक उद्योग स्थापना गर्ने उद्देश्यकासाथ प्रदेश सरकारले त्यस्ता क्षेत्रको पहिचान गर्ने र उद्योग स्थापना गराउने वातावरण बनाउने बताउनुभयो ।

तिमिल्सिनाले जिल्लाको विकासको लागि तीनै तह संघ, प्रदेश र स्थानीय तहको सहकार्यले जिल्लाको विकासमा फड्को मार्ने बताउँदै विकासका लागि सक्दो पहल गर्न आग्रह समेत गर्नुभयो । उहाँले अवको तीन वर्षभित्र जिल्लाका सबै पालिकाका वडाहरुभित्र कालोपत्रे सडक पुग्ने विश्वास दिलाउँदै सबैलाई ढुक्क भएर कृषि क्षेत्रमा लगानि बढाउन आग्रह गर्नुभयो ।

कृषि क्षेत्रको विकासको लागि कृषकहरुलाई सरकारले दिने अनुदान अझै बढाउन आग्रह गर्न भन्दै यस्तो महोत्सवले यस क्षेत्रको प्रबर्धनमा सहयोग पुग्ने धारण राख्नु भएको थियो । उहाँले तीनै तहले एउटै व्यवसायलाई कर लगाउने प्रवृतिको अन्त्य गर्नु पर्नेमा जोड समेत दिनुभएको थियो । व्यवसाय गर्न सरकारले निरुत्साहन हैन प्रोत्साहन गर्ने योजनामा रहेको उहाँको भनाइ थियो । पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

कार्यक्रममा संविधान सभाका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले देखाएको आर्थिक समृद्धिको सपना पुरा नगरेको भन्दै जनताले सरकारको विश्वास गर्नैे छोडेको बताउनुभयो । नेता
जोशीले चुनावअघि घरघरमा ग्याँस, कुश्मामा रेल, युवाहरूको हातमा रोजगारी लगायतका आश्वासन बाँडेर चुनाव जितेर सरकार बनाएको नेकपाले सरकारमा पुगेपछि जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि नै धावा बोलेको आरोप लगाउनु भएको थियो । नेता जोशीले पर्वतमा विकासका धेरै आयोजनाहरू आफ्नो पालादेखि शुरू भएको जानकारी दिँदै ती आयोजनाहरूलाई निष्कर्षमा पुर्याउन अहिलेका जनप्रतिनिधिलाई सुझाव दिनुभयो । ‘देशमा विगतको जस्तो द्वन्द छैन, अस्थिर सरकार पनि छैन, केन्द्रदेखि प्रदेश र स्थानीय सरकारमा तपाईंहरूकै दवदवा छ, पर्वतमा भोलिको पुस्ताले स्मरण गर्नेगरि काम गर्नोस् मेरो पनि सहयोग रहन्छ ।’- नेता जोशीले भन्नु भयो । उहाँले अर्कैले बनाएको बाटो हिँडेर रिवन काट्ने हतार नगर्न अहिलेका जनप्रतिनिधिलाई चेतावनी समेत दिनुभएको थियो । नेता जोशीले भाषणमा भन्दा परिणाममा जोड दिन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य पदम गिरीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउदै पर्वत सहमतिको जिल्ला भएको बताउनुभयो । आर्थिक विकासको लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले सरकारको समिक्षा गर्ने बेला नआएको भन्दै यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरी विकास गर्ने योजनामा रहेको बताउनुभयो । नेपालमा पानी जहान र रेलको कुरा सपना नभई वर्तमान सरकारले ५ वर्ष भित्रमा पूरा गर्ने उहाँको दाबि थियो ।
कार्यक्रममा संविधान सभाका सदस्य गुणाखर बस्याल, प्रदेशसभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेकपाका प्रतिनिधि मेघनाथ सुवेदी, नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसाल, पर्वत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै महोत्सवले जिल्लाको विकासका लागि सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए । महोत्सवको मुल समारोह सुरु हुनु अघि विभिन्न झाकीसहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।

कार्यक्रम उद्योग बाणिज्य सघं पर्वतका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माको अध्यक्षता तथा उद्योग बाणिज्य सघं पर्वतका महासचिव गणेश लामिछानको सञ्चालनमा सम्पन्न भएको थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माका अनुसार पर्वतमा उद्योग वाणिज्य संघको आयोजनामा हरेक ३/३ वर्षमा महोत्सवको आयोजना गर्ने गरिएको छ भने यस अहिलेको महोत्सवबाट करिब डेढ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। झन्डै २ सय स्टलहरू निर्माण गरिएको महोत्सवमा कृषि तथा उद्यमीको काम प्रदर्शन गरिएका ३० ओटा स्टलहरू निःशुल्क दिइएको छ। त्यस्तै, शैक्षिक तथा रचनात्मक काम प्रदर्शन गरिएका स्टलहरूको मूल्य अन्य स्टलको भन्दा कम तोकिएको छ। महोत्सवको समापन माघ १९ गते हुने छ।