विरोधपत्र बुझाउन प्रशासन पुग्दा सिडियो नभएपछि सिडीयो विरूद्धमै काँग्रेस कार्यकर्ता आक्रोशित

पर्वत/सूचना प्रविधि विधेयक लगायत सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल अफिसमा नभएपछि पर्वत काँग्रेसका नेता कार्यकर्ताहरू प्रजिअ विरूद्ध नै आक्रोशित भएकाछन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासनमा पुगेको टोलीले प्रजिअलाई विरोधपत्र बुझाउन आधाघण्टा भन्दा बढी प्रतीक्षा गर्नु परेको थियो । लामो समयसम्म प्रतीक्षा गर्नु परेपछि आक्रोशित कार्यकर्ताहरूले प्रशासनको मूलगेटमै धर्ना दिएका थिए । विरोधपत्र बुझाउनको लागि नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसालले १२ बजेको समय माग्नु भएको थियो ।

मुलुकको प्रमुख प्रतिपक्षी दलले विरोध पत्र बुझाउन समय माग्दा समेत निर्धारित समयमा कार्यालय छोडेर बाहिर गएकोप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले प्रजिअ घिमिरेप्रति कडा आपत्ति जनाउनुभएको थियो । ‘मुलुकको प्रमुख प्रतिपक्षी दलले समय मागेर कार्यालयमा पुग्दा प्रजिअ बाहिर जानुले हामीलाई गम्भीर बनाएको छ, प्रजिअले काँग्रेसका प्रति गरेको नजरअन्दाजको पार्टीले नोटिस गरेको छ ।’- काँग्रेस नेता जोशीले भन्नुभयो । उहाँले ओली सरकारले अपराध, भ्रष्टाचार, महंगी लगायत विभिन्न कर्ममार्फत जनतालाई धोका दिएको वताउँदै पछिल्लो पटक सूचना प्रविधि विधेयक ल्याएर जनताको अभिव्यक्ति स्वतन्त्रताको समेत बध गर्न खोजेको भन्दै कडा भत्सर्ना गर्नुभएको थियो । काँग्रेस नेता जोशीले विधेयक नसच्चिएसम्म काँग्रेसले सङ्घर्षका अरू कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइएको विरोधपत्र पार्टी सभापति खिमप्रसाद भुसालले पढेर सुनाउनु भएको थियो । विरोधपत्र बुझेपछि प्रजिअ कल्पना घिमिरे नेपालले पत्र जस्ताको तस्तै केन्द्र सरकारलाई पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सरकारका विभिन्न गलत कामहरूको विरूद्धमा नेपाली काँग्रेसले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएको छ । यसअघि नेपाली काँग्रेसका सयौँ कार्यकर्ताहरूले जुलुस प्रदर्शन गरेका थिए ।