आफ्नो पदीय सुविधालाई निरन्तर शैक्षिक विकासमा खर्च गर्दै सांसद लामा

नेपाली काँग्रेस नेता तथा संघीय सांसद बहादुरसिंह लामाले आफूले राज्यबाट प्राप्त गर्ने सुविधालाई आफ्नै निर्वाचन क्षेत्रको शैक्षिक तथा सामाजिक बिकासमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आऊनु भएको छ । सांसद लामाले वुधबार नुवाकोटको विदूर नगरपालिका-११ स्थित गेर्खुमा रहेको कालिका माध्यामिक विद्यालयमा अध्ययनरत एकसय २६ जना छात्र छात्रालाई व्यक्तिगत रुपमा विद्यालय पोशाक वितरण गर्नुभएको थियो । पोशाक वितरण पछि बोल्दै सांसद लामाले गुणस्तरीय र वैज्ञानिक शिक्षाबाट मात्र समृद्ध समाज निर्माण हुने बताउनु भएको छ । सांसद लामाले शिक्षामा देखिएको चरम राजनीतिकरणको अवस्था शैक्षिक बिकासको बाधकको रुपमा रहेकाले यसको अन्त्यका लागि सबैको समान धारणा बन्नुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक स्तरमा सुधारले नागरिकको जीवनशैलीमा सुधार हुने र त्यसबाट मात्र समुन्नत समाज निर्माणको आधार तयार हुने सांसद लामाको भनाई थियो । सांसद लामाले बर्तमान सरकार र सम्वद्ध स्थानीय तहहरु बिद्यालयहरुलाई आफू अनुुकुल चलाएर कार्यकर्ता उत्पादन केन्द्र बनाउन उद्यत रहेको आरोप समेत लगाउनु भयो । नेपाली काँग्रेसले बिद्यालयलाई राजनीतिमुक्त बनाएर शान्ति क्षेत्रको रुपमा बिकसित गर्न क्रियाशिल रहेपनि सत्ता संचालकहरुको ध्यान कार्यकर्ता भर्ती र उत्पादनमै केन्द्रीत रहनु शैक्षिक बिकासका लागि दूर्भाग्यपूर्ण रहेको सांसद लामाको दावी थियो ।

कार्यक्रममा नेपाली कांग्रेस नेताहरु ध्रुव अधिकारी, जगतबहादुर तामाङ, बैकुण्ठ मिश्र, गीता अमात्य, बिदुर नपा-१० का वडाध्यक्ष गणेशकुमार नेपाल, उत्तरगया दैनिकका सम्पादक शिव देबकोटा लगायतले शैक्षिक बिकासका बिभिन्न पक्षहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा सांसद लामालाई बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद चालिसेले बिद्यालयको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरेको थियो । सांसद लामाले यसअघि पनि दर्जनौं शैक्षिक संस्थाहरुमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिसक्नु भएको छ ।