पर्वत/फलेवास नगरपालिकामै पहिलो पटक आयोजना गरिएको बृहत फलेवास मेलाको ९० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । सामजिक क्षेत्रमा क्रियाशिल स्थानीय यूनाटेड स्पोर्टस क्लबले कार्यक्रमको आयोजना गरेको हो । मेला स्थलमा अहिले स्टल बनाउने काम देखी मञ्च सिंगार्ने काम हुँदै छ । मेलामा भण्डै १५० ओटा स्टल रहने छन् । क्लवले पर्वतको डिकुवादेखी मालढुङगा हुँदै, कुश्मा र फलेवास नगरपालिकाका सबै वडामा पोष्टर टाँसेको छ । त्यस्तै महाशिला, पैयु, बिहादी गाउँपालिकाका मुख्य चोक र बजार क्षेत्रमा पोस्टर टाँस्ने काम सम्पन्न भईसकेकोे क्लवका सचिव अनुप श्रेष्ठले जानकारी दिनुभयो ।
फलेवास नगरपालिकामा पहिलो पटक आयोजना गर्न लागेको सो मेलालाई अन्य मेला भन्दा पृथक बनाउन लागिएको सचिवको भनाई छ । मेला सफल बनाउन अहिले देश देखी विदेशसम्म सहयोग उठाउन थालिएको छ । आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको मेला प्रचारप्रसार समितिका संयोजक तथा पत्रकार साजन परियारले जानकारी दिनुभयो ।
स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका अध्यक्ष अच्चुतकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने श्रेष्ठले बताउनु भयो । कार्यक्रममा अवधीभर राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । क्लवले प्रत्येक दिन ५ हजार भन्दा बढि दर्शक भित्राउने लक्ष्य राखेको छ ।






