निर्बाचन अनुगमनमा खटिएका काँग्रेस नेता जोशीमाथि नेकपा कार्यकर्ताको मध्यरात मै ज्यादती

कास्की/आचारसंहिता विपरित मतदातालाई प्रभाव पार्न कहिं पैसा बाँड्ने त कतै खाद्यन्न बाँडेर विवादमा आएको नेकपाले निर्बाचनको पूर्व सन्ध्यामा काँग्रेस नेता बसेको होटलमै गुरिल्ला कार्यकर्ता पठाएर तर्साउने र उश्रृङ्खल गतिविधि गर्न लगाएको पाइएको छ । पार्टीको निर्देशन अनुसार कास्की २ को निर्बाचन अनुगमनका लागि खटिनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी बसेको पोखरा वुटिक होटल खहरे हल्लनचोकमा आएर गएराति नेकपाका कार्यकर्ताहरूले रातभर उश्रृङ्खल गतिविधि र शक्ति प्रदर्शन गरेको पाइएको हो ।

पार्टीले संचालन गरेको जनजागरण अभियानमा एकमहिना कास्कीमा खटिएर आफ्नो अलग्गै राजनीतिक प्रभाव बनाउनु भएका काँग्रेस केन्द्रीय सदस्य जोशीलाई तर्साएपछि यो निर्बाचनमा काँग्रेसका मतदातालाई समेत भड्काउन सकिन्छ भन्ने अभिप्रायले काँग्रेस उहाँ बसेको होटलमा त्यो उश्रृङ्खल गतिविधि भएको हुनसक्ने कास्की काँग्रेसको दावी छ । उश्रृङ्खल समूहले काँग्रेस नेतालाई किन राखेको भनेर होटलका कर्मचारीलाई समेत धम्काएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले वताए ।

निर्बाचन प्रभाव पार्न आचारसंहिताको समेत वेवास्ता गर्दै कतै मतदातालाई पैसा बाँड्ने, खाद्यान्न बाँड्ने र सुरक्षा प्रमुखलाई सरूवा गर्ने जस्ता गतिविधि गर्दै आएको नेकपाले मतदातालाई मनोवैज्ञानिक रुपमा तर्साउन यस्ता गतिविधि गरिरहेको नेता जोशीले जानकारी दिनुभयो । ‘सत्ता र शक्तिको भरमा निर्वाचनलाई प्रभावित पार्नेगरि कास्कीमा जुन गतिविधि भएका छन् यी गतिविधिले प्रतिस्पर्धात्मक राजनीतिक मूल्यलाई कमजोर बनाएको छ ।’ – काँग्रेस नेता जोशीले भन्नुभयो । उहाँले आफूले कास्कीमा बनाएको राजनीतिक प्रभावलाई नियन्त्रण गर्ने र निरुत्साहित पार्ने गरि नेकपाले त्यो गतिविधि गरेको हुनसक्ने वताउनुभयो । कास्की सहित देशका विभिन्न स्थानमा आज विहान ७ बजेदेखि मतदान भइरहेको छ ।