काँग्रेसलाई अरुबाट नभै सूर्यमुखी काँग्रेसबाटै खतरा रहेको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्र्तगत पर्वत प्रदेश क को शुक्रवार जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सम्पन्न भएको छ । जागरण अभियानलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले काँग्रेसमा आन्तरिक एकता सुदृढ हुनुपर्ने बताए । उनले बर्षदिन काँग्रेस बन्ने तर मतदानको एक दिन बिपक्षीलाई भोट दिनेबाटै काँग्रेसलाई खतरा रहेको दाबी गरे । ‘काँग्रेसमा अरु कोहीबाट खतरा छैन, तर सुर्यमुखी कांग्रेसबाटै खतरा छ’ उनले भने ।

उनले मै हु भन्ने नेताहरु नै सुर्यमा भोट हाल्न तम्सिनु दुःखद भएको टिप्पणी गरे । प्रतिनिधिसभा सदस्य पदम गिरीले नै आफुलाई काँग्रेसका सात÷आठ हजार नेता कार्यकर्ताले मत दिएर जिताएको खुलासा गर्दै हिडेको स्मरण गराउदै जोशीले पार्टीभित्र बसेर बदमासी गर्नेलाई समय आउदा तल्लो तहका कार्यकर्ताले ठेगान लगाउनुपर्ने बताए । उनले दुई तिहाईको सरकारले दुई बर्षको अवधिमा केही गर्नै नसकेको दाबी गरे । ‘गाउँगाउँमा गफ दिने, जनतालाई भ्रमित पार्ने काम बाहेक दुई तिहाईको सरकारबाट दुई बर्षको अवधिमा जनताले केही पाउनै सकेका छैनन्’ जोशीले भने । ओली नेतृत्वको सरकार समाजबाद भन्दै उल्टोबाटोमा हिडेको टीप्पणी गर्दै जोशीले जनताको भावना र मर्म बिपरित अघि बढेको सरकारको पछिल्ला गतिबिधि दुखःदायी भएको बताए । ‘अहिलेको सरकार जनउत्तरदायी बन्न सकेन, नारा समृद्धि, ब्यबहार निरंकुश देखियो’ उनले भने ।

जागरण अभियानका केन्द्रीय प्रतिनिधि एवम् पूर्वराज्यमन्त्री चम्पादेवी खड्काले काँग्रेसले गरेका काममा अहिले पनि नेकपा सरकार जस लिन तल्लिन रहेको बताइन । काँग्रेसको सरकारको बेला धेरै कामहरु भएपनि प्रचार नभएर ती कामहरु ओझेलमा परेको दाबी गर्दै खड्काले अहिलेको सरकारले दुई बर्षको अवधिमा आफैले बोलेका एउटा पनि काम पुरा गर्न नसकेको दाबी गरिन । उनले नेपाली काँग्रेसले महिला, दलित, जनजातिका साथै विपन्न बर्गको उत्थानका निम्ति थुप्रै काम गरेको र आगामी दिनमा पनि ती बर्गलाई काँग्रेसले नै संरक्षण गर्ने बताइन ।
नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले पार्टीमा अनुशासन हिनता बढ्दै गएको बताए । अनुशासन भित्र बस्न सवैलाई आग्रह गर्दै उनले पार्टीमा अनुशासनहिन नेता तथा कार्यकर्तालाई तल्लो तहवाट कारबाही हुनुपर्नेमा जोड दिए । ‘को को नेताले राम्रो गरेका छन्, को को नेताले खराब काम गरेका छन्, त्यो छुट्याएर कारबाही र पुरस्कार दिने काम तपाईहरुको हो’ जागरणमा सहभागी कार्यकर्तालाई सभापति भुसालले भने ।

जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले मुलुकको विकास र समृद्धि नेपाली काँग्रेसबाट मात्रै सम्भव रहेको बताइन । मुलुकमा कम्युनिष्टको दुई तिहाईको सरकार भएपनि अहिलेको गतिले जनता निराश भएकोले अवको निर्वाचनपछि नेपाली काँग्रेसले विकास र समृद्धिको नेतृत्व गर्ने दाबी गरिन ।
कार्यक्रममा अधिकांशले नेपाली काँग्रेसले हिन्दु राष्ट्रको अजेण्डालाई बोक्नैपर्ने बताएका थिए । निर्वाचनमा कमजोर भएको काँग्रेसलाई बलियो बनाउने सञ्जिवनीबुटी नै हिन्दु राष्ट्र भएकोले काँग्रेसले आफ्नो अजेण्डा बनाउनुपर्ने माग गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता बिप्लब हमाल, हरि विकास जिसी, साबित्री खत्री, लक्ष्मी हमाल, बालकुमारी जिसी, मायाकुमारी शर्मा, भिमनाथ आचार्य, रमेश रेग्मी, डण्डपणी रिजाल, होमवहादुर पुन, रुद्रप्रसाद आचार्य, राजाराम आचार्य, कुलवहादुर खत्री, लेखनाथ रेग्मीलगायतले काँग्रेसले हिन्दु धर्मको एजेण्डा छाडेको, नेताहरु आरोप प्रत्यारोपमा उत्रिएको, पार्टीमा अनुशासन हराउँदै गएको, पार्टीमा प्रणाली लागु गर्नुपर्नेलगायतका कुरा उठाएका थिए ।

कार्यक्रममा जागरण अभियानको उद्देश्यमाथि नेपाली काँग्रेस पर्वत क का सहसचिव जितबहादुर पुनले प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता सचिव कमल अधिकारी, सञ्चालन सचिव कृष्णप्रसाद लामिछाने र स्वागत नेता राजु आचार्यले गरेका थिए ।
कार्यक्रममा नेकपाका जिल्ला नेता हरेमबहादुर खत्रीसहित एक दर्जनबढी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेसमा प्रवेश गर्दै खत्रीले नेकपाले झुटको खेती मात्रै गर्ने आरोप लगाए । ‘पाँच रुपैयाँको काम ग¥यो भने ५० हजारको गफ पिट्ने पार्टी नेकपा हो तर काँग्रेसले ५० हजारको काम गरेपनि कुनै प्रचार गर्दैन’ उनले भने–‘जनताको इमान्दार र बोलेको कुरा पुरा गर्ने पार्टी काँग्रेस नै भएका कारण म काँग्रेसमा प्रवेश गरेको हुँ ।’ खत्री ०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नाग्लीवाङ गाविसको उपाध्यक्षमा नेपाली काँग्रेसबाट बिजयी भएका थिए । पछि नेकपा माओबादी केन्द्रमा लागेका उनी पुनः आफ्नै नेपाली काँग्रेसमै फर्केका हुन ।