पर्वत/पछिल्ला पाँच बर्षमा पर्वतमा मात्रै एक सय ३९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७२/७३ मा २९ जना, २०७३/०७४ मा ३१ जनाले आत्महत्या गरेर देहत्याग गरेका छन् भने ०७४/०७५ मा ३५ जनाले आत्महत्या गरेका छन् । प्रहरी निरिक्षक राजन रायमाझीले गतवर्ष ४० जनाले आत्महत्या गरेको जानकारी दिनुभयो । १० बर्ष उमेर समुहका बालबालिका देखि युवा युवती र बृद्धबृद्धा सम्मका व्यक्तिहरु रहेको रायमाझीले बताउनुभयो । आत्महत्याको तथ्याङ्क क्रमिक रुपमा बढ्दै गइरहेको छ । गतका बर्षहरुको तुलनामा यसबर्ष आत्महत्या गर्नेको संख्या बढ्ने देखिएको हो ।
नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएपछि प्रहरीले पनि मुलुकभर आत्महत्या गर्नेको संख्या बढिरहेको जनाएको छ । युवा युवतीहरु प्रेम र लागु औषधका कारणबाट आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धानमा पाइएको प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । कतिपय युवायुवतीहरु प्रेममा धोका पाएपछि र प्रेम सम्बन्धमा जोडिएपछि घरपरिवारले नस्वीकार्ने र अन्तिम विकल्पका रुपमा आत्महत्यालाई रोज्ने गरेको अर्यालले बताउनुभयो । पारिवारिक समस्या र काममा असफलता भएपछि आत्माहत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।






