आयोजना निर्माणका नाममा लामा कन्ट्रक्सनले खुल्लमखुल्ला गिटी बालुवाको व्यापार गरेको सरोकारवालाको दावी

पर्वत/निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा नगरपालिका वडा नम्बर–८ दोबिल्लामा सञ्चालन गरेको क्रसरले आयोजना प्रयोजनका लागि उत्पादन गरिएको गिट्टी, बालुवा अन्य निर्माणका योजनामा बिक्री गर्दै आएको पाइएको छ । उक्त क्रसरले सडक निर्माणका क्रममा निस्किएको माल प्रयोग गरेर गिट्टी, बालुवा उत्पादन गर्नुपर्ने भएपनि खोलाबाट समेत अबैध रुपमा सामान निकाल्न थालेको स्थानीयको आरोप छ । लामा कन्ट्रक्सनले चलाएको क्रसर उद्योगले अन्य पुल, सडक, निजि तथा सरकारी भवनमा समेत अबैध रुपमा गिट्टी, बालुवा बिक्री बितरण गर्दै आएपछि त्यसको चौतर्फी बिरोध भएको छ ।

लामा कन्ट्रक्सनले आयोजनाको नाममा क्रसर संचालन गरेर गिट्टी, बालुवाको ब्यापार चलाएको बुझिएको छ । कुश्मा नगरपालिकाले खोलाबाट समेत सामान निकाल्न पाउनेगरी केही समय पहिले आयोजनालाई चिठी दिएको थियो । राष्ट्रिय गौरबको आयोजना भएको र सामान अभाव भएको बहानामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कुश्मा नगरपालिका, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयलगायतले खोलाबाट समेत सामान निकाल्न दिने निर्णय गरी नगरपालिकाले पत्र दिएको हो । तर आठ महिनाअघिदेखि सञ्चालनमा आएको क्रसरले दैनिक एक सय टिपरसम्म सामान बाहिर बिक्री गर्दै आएको बुझिएको छ । यो क्रसरले उत्पादन गरेको गिट्टी सेतो छ । अहिले कुश्मा वरपरका हरेक निर्माणका योजना र ब्यक्तिगत घर निर्माणमा समेत यो गिट्टी प्रयोग गरेको पाइएको छ । कुश्मा–दुर्लुङ सडकको ढलान, आम्बोटमा निर्माण भइरहेको पक्की पुल, कुश्माबजारमा निर्माण स्तरोन्नती हुँदै गरेको सडक, फलेबास–लुंखु सडकमा पनि लामा कन्ट्रक्सनकै नाममा खोलिएको क्रसरले उत्पादन गरिएको सामान पुगेको छ । आफुलाई आवश्यक पर्ने सामान सडक खन्ने क्रममा निस्किएको मालबाटै उत्पादन गर्नुपर्ने नीति भएपनि अहिले अबैध रुपमा खोलाबाट समेत सामान उठाउन थालेपछि कन्ट्रक्सनको व्यापक विरोध भएको हो ।
आफ्नो योजनाको काम मात्रै सम्पन्न गर्नका लागि चलाइएको क्रसर उद्योगले अन्य आयोजनामा दैनिक लाखौको माल बिक्री गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयले शुक्रवार र शनिवार केही ट्याक्टर तथा ट्रिपरहरु कब्जामा लिएको थियो । तर पछि कागज गराएर उनीहरुलाई छाडिएको पर्वत प्रहरीले जनाएको छ । ‘आयोजनाबाट सामान खरिद गरेको भेटेपछि केही ट्याक्टर र ट्रिपरहरु पक्राउ गरेका थियौं । तर आइन्दा खरिदविक्री नगर्ने शर्तमा छोडिएको छ ।’–प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले भन्नुभयो । समातिएका ट्याक्टर तथा ट्रिपरहरु जिल्लाकै केही जनप्रतिनिधिबाटै संचालित भएको समेत उहाँले जानाकारी दिनुभयो ।

यता मध्यपहाडी लोकमार्गका म्यानेजर गोविन्द भुसालले भने आफूहरुले कुनैपनि आयोजनाहरुलाई सामान विक्री नगरेको तथा केहीले सापटी र केहीले फकाएर आफूहरुसँगबाट सामान लिने गरेको तर प्रहरीमा समातिएपछि खरिद गरेको भनेर प्रचार गरेको दावी गनुभयो । भुसालले गिटी,बालुवा विक्री गर्ने आफूहरुको काम नभएको समेत वताउनु भयो ।

पर्वत जिल्लामा हाल राज्यको निकायमै दर्ता भएर सञ्चालनमा आएका तीन वटा क्रसर उद्योग रहेका छन् । विकासे योजनामा ती क्रसर उद्योगबाटै आवश्यक ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सम्भावना हुँदाहुँदै राज्यका निकायले नै एउटा आयोजनाका लागि सञ्चालन भएको क्रसरको सामान खुलमखुल्ला अन्यत्र बिक्री गर्न दिनु दुःखद भएको जिल्लाका क्रसर उद्योगहरुले जनाएका छन् । यहाँ बर्षौदेखि सञ्चालन भएका क्रसर उद्योगलाई नदीमा एक्साभेटर प्रयोग गर्न र सामान निकाल्न रोक्दै आएको जिल्ला समन्वय समितिले निश्चित योजना निर्माणका लागि सञ्चालन भएको क्रसरले अन्यत्र सामान निकासी गर्दा किन मौन रहेको छ । शंकाको विषय छ ।

मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरबको आयोजना भएकोले यो सडक ५० औं बर्ष टिकाउ हुनुपर्ने मान्यता छ । सडकको टिकाउका लागि त्यही अनुसारको गुणस्तरमा र मापडण्डमा निर्माण हुनुपर्ने भएपनि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अत्यन्त कमजोर रुपमा निर्माण भइरहेको सरोकारवालाहरुको टिप्पणी छ । पुरानो नाली काटेर त्यही नयाँ नाली निर्माण गरिरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन प्रालिले छेउछाउ र कमजोर तरिकाले वाल लगाउने काम गरिरहेको छ । त्यहाँ हालसम्म प्रयोग गरिएको कमसल खालको बालुवाका कारण केही बर्षमै यो सडक पुरानै अवस्थामा फर्कने आशंका गरिएको छ । दुई/तीन बर्षसम्म कहिले हिलाम्य, कहिले धुलाम्य र कष्टकर यात्रा गरेर भएपनि सडक निर्माणमा साथ दिएका जनतालाई यो सडक निर्माणको क्रममा भएको गलत कामले धौलागिरीबासीलाई नै प्रभावित पार्ने भएको छ ।