आठबर्ष यता पर्वतमा २१ वटा मोटरेबल पुल निर्माण: अझै आधादर्जन पुलको माग

पर्वत / जिल्लामा पछिल्लो आठ वर्षको अवधिमा २१ वटा मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ। जिल्लाका सबै ६१ वटा वडा, टोल र बस्तीसम्म सडक सञ्जाल पुगेपछि ती सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले पुल निर्माणको कामलाई तीव्रता दिइएको हो।

कुल दुईसय १० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको यस जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई र कालीगण्डकी करिडोरमा तीनवटा पुल बनेका छन्। पछिल्लो समय भएका संसदीय, प्रदेश र स्थानीय तहको निर्वाचनपछिको अवधिमा भौतिक पूर्वाधारतर्फ पर्वतले उल्लेखनीय प्रगति गरेको छ।

जिल्लाका दुई ठूला नदी कालीगण्डकी र मोदीखोलामा लामा पुलहरू निर्माण भएका छन् भने ग्रामीण क्षेत्रका साना खोलाहरूमा पनि छोटो दुरीका पुल बनेका छन्। निर्माण सम्पन्न भएका मोदीवेणीस्थित मोदी खोला, भूकताङलेको भुरुङदीखोला, तिलाहारको रतीखोला र दुर्लुङ–बाजुङ जोड्ने आम्बोटखोला लगायतका पुलमा अहिले नियमित सवारी सञ्चालन भइरहेका छन्।

यसैगरी दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने मर्दि खोला, सेतीखोला, रिठेखोला र गेडीखोलासँगै फलेवास नगरपालिकाको चिर्दीखोला र जैमिनीघाट जोड्ने कालीगण्डकी पुल पनि यसै अवधिमा सम्पन्न भएका हुन्।

पूर्वाधार विकास कार्यालयका अनुसार रानीपानी–इमिचौरदेखि गुल्मी जोड्ने कालीगण्डकी पुल र मोदी गाउँपालिकाको भुकदेखि कास्की जोड्ने भुरुङदीखोला पुलले पनि यस क्षेत्रको यातायातमा सहजता ल्याएका छन् । जिल्लामा अझै आधा दर्जन पुलको माग भइरहेको छ। ती पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भए पनि बजेट सुनिश्चित हुन बाँकी छ।

मोदीखोलाको गाडतारा र झाप्रे बगरमा पुलको सम्भाव्यता अध्ययन सकिएको छ भने कालीगण्डकीका दुई स्थानमा पुल निर्माणका लागि योजना प्रक्रियामा रहेका छन्।हाल मल्याङ्दीखोला र पराधिस्थित मोदीखोलामा दुईवटा पुल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।