बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहिन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई जैमिनीले आवासको व्यवस्था गरेको हो ।
आवास पाउनेमा अधिकांश दलित समुदायका छन् । स्थानीय सरकारले आवासको व्यवस्था गरिदिएपछि सुकुम्बासी परिवारमा खुशी छाएको छ । जैमिनीले आफ्नै बजेटबाट चालु आर्थिक वर्षमा १५ र गत वर्ष ३ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था गरेको हो ।
मुहमद बसिर मियाँ, मुमिना खातुन, रत्नखर पाध्यालाई वडा नं. १ कुश्मीसेरा, शान्ति सुनार, सुविकला परियार, देवीराम विक, कोपिला परियारलाई वडा नं. २ तल्लो दमेक, मनमाया विक, कौशिला विक, लिलावती पुनलाई वडा नं. ३ माथिल्लो दमेक, द्रुपदा उपाध्यायलाई वडा नं. ६ अर्जेवामा घर बनाएर हस्तान्तरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखाका महिला विकास निरीक्षक देवी विकले जानकारी दिइन् ।
विकका अनुसार,, कुलबहादुर सुनार, सन्तबहादुर विक र रिता नेपालीलाई वडा नं. ७ जैदी र सन्त बहादुर विक ‘लमजुङे माइला’, सोमनाथ विक, मनबहादुर दमै, कर्णबहादुर दर्जी, सन्तबहादुर विकलाई वडा नं. ८ छिस्तीमा आवासको व्यवस्था गरिएको छ ।
सुकुम्बासी परिवारलाई घर निर्माणका लागि जग्गा खरिद गर्न एक लाख र घर बनाउन दुई लाख रुपियाँ उपलब्ध गराई जैमिनीका उप–प्रमुख हरिहर शर्माले जानकारी दिए । पालिकाका कोही पनि नागरिक आवासबिहिन बन्न नपरोस् भनी जैमिनीले कार्यविधि नै बनाएर सुकुम्बासी, घरविहिन र विपत् पीडितलाई साथ दिँदै आएको छ ।
गाउँघरमा विद्युतको वायरिङ गरेर परिवार पाल्दै आएका जैमिनी–१ कुश्मीसेराका मुहमद बसिर मियाँले घर बनाउन स्थानीय सरकारको साथ पाएपछि परिवारको बसाई सुखद बनेको बताए । ‘श्रीमानश्रीमती र चार सन्तानसहित ६ जनाको परिवार भाडाको घरमा बस्दा निकै समस्या थियो, नगरपालिकाले घर बनाइदिएपछि सहज भएको छ’’ मियाँले भने, ‘‘हिजो सुकुम्बासी थियौं, अहिले आफ्नै घरको मालिक भएका छौं ।’’
घर तयार गर्न ३ लाख पर्याप्त नभएपनि सुकुम्बासी परिवारलाई सम्मानजन जीवनयापनको वातावरण तयार गर्न स्थानीय सरकारले दायित्व निर्वाह गरेको शर्माको भनाई छ । जैमिनीले सुकुम्बासी परिवारलाई ३ लाख, आर्थिक अवस्था कमजोर भई घरविहिन बनेकालाई २ लाख र विपत् प्रभावित घरविहिनलाई २ लाख ५० हजार रुपियाँ दिँदै आएको छ ।
‘‘नागरिकको सुरक्षित आवास भएमात्रै विकास निर्माणका काम गर्न सकिन्छ’’ उप–प्रमुख शर्माले भने, ‘‘आन्तरिक स्रोतको परिचालन गरी दीर्घकालिन योजना बनाएर काम गर्दा जैमिनीलाई सुकुम्बासी मुक्त पालिका बनाउन सफल भएका छौं ।’’ आवासको व्यवस्थापछि सुकुम्बासी मुक्त पालिका घोषणा गर्ने जैमिनीले तयारी गरेको छ ।
जैमिनी नगरपालिकामा जनप्रतिनिधि आएपछि ६३ घरविहिन परिवारलाई घर निर्माणमा साथ दिएको छ । कतिपय घर निर्माणमा जैमिनीले आफ्नै बजेट परिचालन गरेको छ भने कतिपय घर जिल्ला विपत् कोषसंगको सहकार्य बनेका छन् ।
जैमिनीले खरका छाना विस्थापित गर्ने काम पनि गर्दै आएको छ । यो कामले गरिबीका कारण खरको छानासमेत फेर्न नसकेका विपन्न परिवारलाई राहत मिलेको छ । जस्तापाताले घर छाएपछि वर्षेनि छाना फेरिरहनु पर्ने बाध्यताको अन्त्य भएको जैमिनी–२ दमेककी कृष्ण कुमारी विकले बताइन् । खरका छाना विस्थापित गर्न जैमिनीले लाभग्राहीलाई २१ देखि ४५ हजार रुपियाँसम्म उपलब्ध गराउँदै आएको छ ।







