निर्वाचन पछि पर्वत काँग्रेसको प्रारम्भिक समीक्षा : ‘वचन दिए, भोट दिएनन्’

पर्वत/फागुन २१ को निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेको नेपाली काँग्रेस पर्वतले निर्वाचन परिणामको प्रारम्भिक समीक्षा गरेको छ । समीक्षामा बोल्ने अधिकांश वक्ताहरूले मतदाताले आफूहरूलाई वचन दिएर पनि मत अर्कैलाई दिएको वताएका थिए । यसपालि मतदाताले नै झुक्काएको काँग्रेसको निष्कर्ष थियो । विगतका निर्वाचनमा नेताहरूको असन्तुष्टी,  उम्मेदवारप्रतिको आक्रोश र  अन्तर्घात हुने गरेको भएपनि यसपटक अधिकांश नेता कार्यकर्ताहरू एकजुट भएर चुनावमा होमिएको भएपनि परिणाम उल्टो आएपछि काँग्रेसलाई मतदाताले नै झुक्काएको वक्ताहरूको निष्कर्ष थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जनताको घरदैलोमा पुग्दा आफूलाई धेरै मतदाताले भोट तपाईंलाई नै दिन्छौं भनेको वताउनु भएको थियो । -‘धेरैले मलाई नै भोट दिन्छौ भन्थे तर बचन मलाई दिए, भोट अर्कैलाई दिए ।’- जोशीले भन्नुभयो । केन्द्रीय सदस्य जोशीले आफू यो पटक अन्तिम निर्वाचन लडेको वताउँदै अब निर्वाचन लड्ने साथीहरूले अझै बढि सुझबुझका साथ जनतालाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिनुभयो । -‘म अब चुनाव लड्दिन, चुनाव नलडेपछि हार्दा पनि हार्दिन, तर चुनाव लड्ने साथीहरू निरन्तर जनताको वीचमा जानुहोस् । अब पुरानो पाराले मतदातालाई काँग्रेसका प्रति आकर्षित गर्न सकिँदैन  ।’- जोशीले भन्नुभयो । उहाँले चुनावको यो परिणाम वारे हल्का विश्लेषण र सतही समीक्षा गरेर नपुग्ने भन्दै अझै कठोर र निर्मम समीक्षाका लागि काँग्रेसका सबै तहगत संरचनालाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पर्वत काँग्रेसका निवर्तमान सभापति एवं   चुनाव प्रचारप्रसार समितिका संयोजक खिमप्रसाद भुसालले काँग्रेसकै क्रियाशील सदस्यता लिएका अगुवा कार्यकर्ताले पनि मतदानमा वेइमान गरेको वताउनु भएको थियो ।-‘ काँग्रेसको प्रचारमा हिँडे, काँग्रेसकै झण्डा बोके, काँग्रेसकै चियाखाजा खाए तर भोट अन्तै हाले ।’- भुसालले भन्नुभयो ।

बैठकमा निर्वाचन परिचालन समितिका संयोजक एवं काँग्रेस नेता खगेन्द्रप्रसाद तिवारीले यो चुनावको परिणाम आश्चर्यजनक भएको उल्लेख गर्दै देशव्यापी आएको यस्तो लहरलाई पहिचान गर्न नसक्नु कमजोरी रहेको वताउनुभयो । उहाँले निर्वाचन परिचालनमा सबै नेता कार्यकर्ताहरूको उत्साहजनक सहभागिताबाट पनि परिणाम उल्टो आउनु दुखद भएको धारणा राख्नुभएको थियो ।

वैठकमा बोल्ने अन्य वक्ताहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अनपेक्षित प्रभावको सही मूल्याङ्कन गर्न नसक्नु, मुख्य प्रतिस्पर्धी दलका रूपमा एमालेलाई मात्र आँकलन गर्नु, ‘बदलियो काँग्रेस, बदल्छौँ देश’ भन्ने नारालाई आम मतदातासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्नु, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको सही विश्लेषण गर्न नसक्नु तथा युवाहरुलाई आकर्षित गर्ने रणनीतिलाई प्रभावकारी बनाउन नसक्नु जस्ता विषयहरुलाई पराजयका प्रमुख कारणका रूपमा औँल्याएका थिए । त्यसैगरी केन्द्रीय नेतृत्व परिवर्तन भए पनि पार्टीको नीति पूर्ण रूपमा रूपान्तरण हुन नसक्नु पनि पराजयको कारणका रूपमा उनीहरूले उल्लेख गरेका थिए ।

समीक्षा वैठकमा पार्टी सभापति युवराज जोशीले विगतका निर्वाचनभन्दा यो निर्वाचनमा सबै नेता कार्यकर्ताहरू उत्साहजनक रूपमा खटेको वताउँदै निर्वाचन परिणाम उल्टो आएपनि यसलाई सहर्ष स्वीकारेर आगामी यात्रा तय गर्नुपर्ने भन्दै कसैकाप्रति दोषारोपण र आरोपप्रत्यारोप नगर्न सुझाव दिनुभएको थियो । सभापति जोशीले रास्वपाले प्राप्त गरेको जनमतलाई सम्मानपूर्वक देश निर्माणमा लगाओस् भन्ने शुभकामनासमेत दिनुभएको थियो ।

वैठकमा निर्वाचन विश्लेषण र सबै वडाको मत परिणाम वारे पार्टी सचिव गुप्तनिधि शर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले निर्वाचनमा आन्तरिक समन्वय, पार्टीभित्र एकता तथा कार्यकर्ताहरुमा उत्साह हुँदाहुँदै पनि अपेक्षित परिणाम हासिल गर्न नसकिएको भन्दै आगामी दिनमा यस्ता कमजोरी सुधार गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने  वताउनु भएको थियो ।

बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य यामबहादुर मल्ल (रामकृष्ण), पार्टी प्रवक्ता तथा सहसचिव अच्युत तिवारी, पार्टी सहसचिव तिलकप्रसाद भुसाल, नेपाली कांग्रेस प्रदेश सभा (ख) का क्षेत्रीय सभापति परविन गुरुङ,  विज्ञ क्षेत्र समन्वय समितिका संयोजक सुवास पन्त,  अनुगमन समितिका संयोजक विश्वप्रकाश प्रसाईं, पालिका सभापतिहरूले समेत आ-आफ्ना मतहरू राख्नुभएको थियो ।