‘प्रचण्डले गरेको अपराधप्रति अन्तर्राष्ट्रिय कानुन आकर्षित हुनसक्छ-‘काँग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले माओवादी अध्यक्ष प्रचण्ड घर न घाटको भएर समाप्त हुने दावी गर्नुभएको छ । नेपाल किसान महासंघ कुश्मा नगरपालिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त दावी गर्नुभएको हो । उहाँले विगतको १० बर्षे हिंसात्मक आन्दोलनमा प्रचण्डले गरेको अपराधमाथि अन्तर्राष्ट्रिय कानुन आकर्षित भइरहेको वताउँदै त्यसैको डरमा प्रचण्ड कहिले यताको भित्तो र कहिले उताको भित्तो समात्न छटपटिएको आरोप लगाउनुभयो । -‘प्रचण्डले आफ्नो राजनीतिक वेइमानलाई क्रान्तिकारी छलाङ् भनेर भनिरहेका छन् तर यो उनको विक्षिप्त छटपटाहट हो ।’- नेता जोशीले भन्नुभयो । केन्द्रीय सदस्य जोशीले अहिले बनेको नयाँ गठबन्धनले काँग्रेसलाई कुनै क्षति नपुगेको वताउँदै काँग्रेसलाई संगठन सुदृढिकरण र शुद्धिकरणका लागि जनतामा जाने अवसर प्राप्त भएको दावी गर्नुभयो । उहाँले पछिल्लो समय काँग्रेसभित्र संगठनको पक्षमा काम गर्नेहरूमाथि नियोजित आक्रमण भएको वताउँदै संगठनप्रति सक्रिय हुनेलाई हतोत्साही नभएर प्रोत्साहित गर्न सबैलाई सुझाव दिनुभयो । नेता जोशीले किसान महासंघको सक्रियताको प्रशंसा समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछाने, गण्डकी प्रदेशका सदस्य यामबहादुर मल्ल (रामकृष्ण), नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति डाक्टर चूडामणि शर्मा, अर्का उपसभापति शिवप्रसाद सुवेदी, नेपाली काँग्रेस प्रदेश सभा (क)का क्षेत्रीय सभापति राजकुमार क्षेत्री, कुश्मा नगर समितिका सभापति किशोर भण्डारी, नेपाल महिला संघ पर्वतका कार्यवहाक अध्यक्ष सुशीला शर्मा लगायतले बोल्नुभएको थियो ।

नेपाल किसान महासंघका जिल्ला अध्यक्ष रघुनाथ गौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य किसान महासंघ पर्वतका सदस्य दुर्गाकुमारी भुसालले गर्नुभएको थियोभने कार्यक्रमको संचालन सचिव हेम अधिकारीले गर्नुभएको थियो । अधिवेशनले विश्वराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।