पर्वत/महाशीला गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बिहीवार सम्पन्न दशौ गाउँसभामा अध्यक्ष राजुप्रसाद पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष हिराकुमारी रानाले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले आगामी आर्थिक वर्ष ७८/७९ का लागि लागि कुल ३९ करोड १२ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महाशिलाले चालु खर्च तर्फ ३ करोड २८ लाख २१ हजार, बिनीयोजन गरेको छ भने पुँजीगत तर्फ १५ करोड ४ लाख ७१ हजार बिनीयोजन गरेको जनाएको छ । यसैगरी शसर्त तर्फ संघीय सरकारवाट तोकिएको कार्यक्रममा रु १६ करोड ९७ लाख, विशेष अनुदान संघीय तर्फ १ करोड ८ लाख रुपैया रहेको छ ।
त्यसैगरी शसर्त अनुदान प्रदेश सरकारतर्फ ६० लाख, समपुरक ४० लाख र जिल्ला समन्वय समिति मार्फत प्राप्त रु ४० लाख र अन्य गरी उक्त बजेट सार्वजनिक गरिएको हो । महाशिलाले आगामी आर्थिक वर्षमा ७१ लाख २ हजार ८ सय राजश्व संकलन हुने अनुमान गरेको छ ।
महाशिला कोरोना नियन्त्रण, सडक पूर्वाधार विकास, पर्यटन, कृषि, रोजगारी र शिक्षालाई बजेटमा मुख्य प्राथमिकता दिएको छ । यो गाउँपालिकाले आर्थिक विकास, गरिबी निवारण, र रोजगारीको सिर्जना गर्ने उद्धेश्य लिएको छ ।
उत्पादनमुलक तथा छिटो प्रतिफल दिने कार्यक्रमहरु, जनताको जीवनस्तर उकास्ने कार्यक्रम, स्थानीय श्रोत साधन, सिप र स्थानीयको सभागितामुलक कार्यक्रमलाई जोड दिईएको छ । दिगो विकास वातावरणीय संरक्षण तथा सम्वद्र्धन, पारदर्शि, उत्तरदायित्व र सूचनाको हक मार्फत सुसशासनको अभिबृद्धि गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।






