पर्वत/यसै साता परेको अविरल वर्षाका कारण गएको पहिरोले जलजला गाउँपालिकाका विभिन्न स्थानमा पुर्याएको क्षतिको मूल्यांकन गर्न गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । लगातारको बर्षाले जलजला गाउँपालिकाको वडा न ७ धाइरिङमा सबैभन्दा बढी क्षति पुर्याएको र अन्य विभिन्न वडाहरूमा झण्डै एकसय घरका बासिन्दाहरू प्रभावित भएका छन् । बर्षाले धाईरिङमा मात्रै ४० घरमा पूर्ण रूपमा क्षति पुर्याएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
पहिरोबाट क्षतिग्रस्त घरहरूको मूल्यांकन गरी फर्कनुभएका अध्यक्ष मल्लले गाउँपालिकाको विपद व्यवस्थापन कोषमार्फत पीडितहरूलाई राहत उपलब्ध गराउने वताउनु भयो । ‘हामीले स्थलगत अध्ययन गरि क्षतिको मूल्यांकन गर्ने काम गरेका छौं, यथाशिघ्र पीडितहरूलाई सक्दो राहत उपलब्ध गराउने छौं ।’- अध्यक्ष मल्लले भन्नुभयो । उहाँले पीडितहरूलाई आवश्यक राहत उपलब्ध गराउन जिल्ला स्तरीय दैवी प्रकोप उद्धार तथा राहत व्यवस्थापन समिति, जिल्ला रेडक्रस र अन्य दाताहरूसँग अपिल समेत गर्नुभएको छ । उहाँले भर्खरै मात्र मनसुन शुरुवात भएकोले बाढी पहिरोको जोखिम रहेको भन्दै सबैलाई उच्च सतर्कताका रहन सुझाव समेत दिनुभएको छ । अध्यक्ष मल्लसहित सो निरीक्षण टोलीमा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नेपाल रेडक्रस सोसाइटी पर्वतका अध्यक्ष रुद्रबहादुर रिमाल, जलजला गाउँपालिकाको विपद व्यवस्थापन समितिका संयोजक भीष्म मल्ल लगायतको सहभागिता रहेको थियो ।
यसैवीच स्थलगत निरीक्षण पछि प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्ला दैविक प्रकोप उद्धार तथा राहात कोषमार्फत पीडितहरूलाई राहत वितरण गर्नुभएको थियो । प्रजिअ खत्रीले आंशिक रूपमा क्षति पुगेका पीडितलाई पाँच हजार र पूर्ण रूपमा क्षति भएका पीडितलाई १० देखि १५ हजारका दरले राहत वितरण गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका अध्यक्ष रुद्रबहादुर रिमालले पीडितहरूलाई तत्कालका लागि आवश्यक त्रिपाल, लत्ताकपडा र भाँडाकुँडा उपलब्ध गराउनु भएको छ ।









