बुबाको मुख हेर्ने दिनः तिमीलाई बाबाको माया कति लाग्छ रे

17

‘जतिबेला मसँग बुबा हुनुहुन्थ्यो, त्यसबेला मैले उहाँलाई बुझिन

जतिबेला मैले बुबालाई बुझें, त्यसबेला मसँग बुबा हुनुहुन्थ्यो ।’

लेखक बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’मा उल्लेख यो वाक्यांशले हृदयको अन्तरकुना स्पर्श गर्छ । बुबासँगको भावनात्मक सम्बन्ध, धारणा उमेरसँगै फेरिदै जान्छ । सानो छँदा सोचिन्छ रे, ‘मेरो बुबा संसारका सबैभन्दा शक्तिशाली हुन् ।’

जतिबेला बुबाले हामीलाई कहिले पिठ्युँमा त कहिले ढाँडमा बोकेर ‘हट घोडा हट’ खेलाइरहेका हुन्छन्, त्यसबेला हामीलाई बुबा भन्दा असल, मायालु कोही लाग्दैन ।

उमेर बढ्दै जान्छ । किशोरावस्थामा पुग्छौं । बुबाले हामीलाई पढ्न प्रेरित गर्छन् । सही बाटोमा हिँड्न मार्गदर्शन गर्छन् । हामी ठान्छौं, ‘मेरो बुबा जस्तो जान्ने, ज्ञानी यो संसारमा कोही छैनन् ।’

हामी युवाअवस्थामा पुग्छौं । जान्ने-बुझ्ने हुन्छौं । बुबाकै छत्रछायाँमा हुर्केका, बुबाकै सामिप्यतामा शिक्षादिक्षा पाएका हामीलाई लाग्न थाल्छ, ‘मेरो बुबा खासै शिक्षित होइन रहेछन् ।’

हामी जागिर खान थाल्छौं । पैसा कमाउँछौं । साथभाई बनाउँछौं । प्रतिष्ठा आर्जन गर्छौं । बैंकमा पैसा सञ्चय हुन थाल्छ । त्यसबेला बुबालाई बुढ्यौलीले छोपिसकेको हुन्छ । उहाँको रेखदेख गर्नुपर्ने दायित्व बोध गरिरहँदा हामी ठान्छौं, ‘मेरो बुबा कमजोर रहेछन् ।’

जतिबेला बुबा अशक्त हुन्छन् । रोगले थलिन्छन् । आफ्नो कमाईको स्रोत हुँदैन । औषधी पानीका लागि पनि छोराछोरीको आश गर्नुपर्ने बेला हुन्छ । हामीलाई लाग्छ, ‘मेरो बुबा साहै्र निरिह रहेछन् ।’

समयचक्रले हरेकप्रति हेर्ने र बुझ्ने धारणा परिवर्तन गराइदिन्छ । हाम्रो आँखाबाट, हाम्रो बुझाईबाट बुबालाई अनेक रुपमा देख्छौं । बाल्यकालमा सर्वशक्तिमान, ज्ञानी, जान्नेबुझ्ने लागेका उनै बुबा हामीलाई पछि कमजोर, निरिह, अशिक्षित लाग्न थाल्छ ।

जबकी बुबाको दृष्टिकोण र बुझाईमा कहिल्यै यस्तो भिन्नता आउँदैन । उनीहरुले बाल्यकालमा आफ्नो छोराछोरीमाथि जुन बिम्ब बनाएका हुन्छन्, जीवनभर त्यही बिम्ब बनाएर बाँचिरहन्छन् । उनीहरुलाई लाग्छ, ‘मोरा छोराछोरी सानै छन्, धेरै कुरा सिक्न बाँकी नै छन् ।’

यस्तै ममतामयी हृदयले छोराछोरीलाई हेरिरहन्छन्, जीवनभर । छोराछोरी हुर्कन्छन्, पढ्छन्, जागिर खान्छन्, विवाह गर्छन् । आ-आफ्नै कामधन्दामा व्यस्त हुन्छन् । तरपनि बाबाको आँखाले छोराछोरीलाई त्यही रुपमा देख्छ, जतिबेला उनले आफ्नै काँधमा बोकेर खेलाएको हुन्छ । काखमा बोकेर सुताएको हुन्छ । आफ्नो औषधी खाने कुरामा भन्दा पनि ‘छोराछोरीले खाए, खाएनन्’ भन्ने कुराले उनीहरुलाई पिरोल्छ ।

बाबाः एकमा अनेक

बुबाले हाम्रो निम्ति अनेक किसिमको जीवन बाँच्छन् । सानो छँदा उनी हाम्रा संरक्षकको रुपमा हुन्छन् । साथीको रुपमा हुन्छन् । जतिबेला हामी तोतो बोली बोल्दै, बामे सर्न थालेका हुन्छौं, यतिबेला बुबा हाम्रो सबैभन्दा मायालु छहारी बन्छन् । उनकै काँधमा चढेर, उनकै काखमा टेकेर, उनकै नाक निमोटेर, उनकै गाला टोकेर हामी आनन्द लिन्छौं । रमाउँछौं ।

हामी ठिंग उभिएर हिँड्न सक्ने हुन्छौं । पुस्तक च्यापेर विद्यालय जान थाल्छौं । बुबाले त्यसबेला हाम्रो मार्गदर्शन गर्छन् । उनी कुनै शिक्षकको रुपमा खडा हुन्छन् । हाम्रो शिक्षा-दिक्षाको लागि आफ्नो गाँस कटाउँछन् ।

हामी जति-जति सक्षम र जान्नेबुझ्ने हुन्छौं, बुबा हाम्रो करियर, स्वास्थ्यप्रति ख्याल राख्न थाल्छन् । कसरी काम गर्ने, स्वास्थ्यको ख्याल कसरी राख्ने भन्ने कुरा सिकाइरहेका हुन्छन् ।

बुबालाई हामीले अनेक रुपमा देख्छौं । विडम्बना के छ भने, जतिबेला हामीसँग बुबा हुन्छन्, त्यसबेलासम्म हामीले उहाँको महत्व र उपस्थितीलाई बुझेकै हुँदैनौं । जतिबेला त्यो कुरा अनुभूत गर्न थाल्छौं, त्यसबेला हामीसँग बुबा हुँदैनन् ।

बुबाको खातिर

– आफ्नो निद्रा भुलेर, सुतायो जसले हामीलाई । आफ्नो आँशु थामेर, हसाँयो जसले हामीलाई । चित्त कहिल्यै नदुखाउनु उसको, जसले स्वयम् आमाबुबा बनायो आफुलाई ।

– जिन्दगीमा दुई व्यक्तिको ख्याल राख्नु जरुरी छ । पहिलो पिता, जसले तिम्रो जीतको लागि सबैकुरा हारेका छन् । दोस्रो आमा, जसले तिम्रो हरेक दुखमा पुकारा गरेकी छिन् ।