पर्वत/जैमिनी नगरपालिका ४ सर्कुवा बागलुङका अमित केसीको सगरमाथा आरोहण अभियानमा रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष तथा पर्वतका सफल युवा व्यवसायी विप्लव हमालले १० हजार सहयोग गर्नु भएको छ । काँग्रेसका युवा नेता समेत रहेका हमालले पृथ्वी जयन्तीको अवसरमा दृष्टिविहीन केसीलाई आज उक्त रकम हस्तान्तरण गर्नुभएको हो । जन्मजात दृष्टिविहीन रहेका केसीले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन् । केसी यसअघि पनि सगरमाथाको आठ हजार मिटर उचाईमा पुगेर फर्केका थिए ।
समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका ३५ वर्षिय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणको दोश्रो पटक तयारीमा जुटेका छन् । अपाङ्गतालाई कमजोरीको रुपमा नलिएर अवसरको रुपमा लिँदै आफूभित्र रहेका अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दै अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सक्छ भन्ने सन्देश दिन यो अठोट गरेको केसीले बताए । आफ्नो सगरमाथा आरोहणले नेपालमा रहेका अपाङ्गता भएका अरु व्यक्तिलाई सङ्घर्ष गरी सफलतामा पुग्नका लागि प्रेरणा दिने केसी बताए । सगरमाथामा नेपालकै पहिलो दृष्टिविहीनको पाइला टेकाउने मेरो अठोटलाई पूरा गराउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छु” – उनले भने ।
केसीको अभियान एक व्यक्तिको मात्रै नभएर सिङ्गो धौलागिरि र देशभरका फरक क्षमता भएका व्यक्तिहरुको अभियान भएकोले उनको अभियानमा सबैले सहयोग गर्नुपर्ने युवा व्यवसायी हमालको तर्क छ ।
केसीको सगरमाथा आरोहणमा सहयोग जुटाउन जैमिनी नगरपालिकाले समेत साढेदुई लाख रुपैयाँ सहयोग गरिसकेको छ । बेनीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुलाई समावेश गरी एक समिति निर्माण गरिएको छ । कसीले आगामी चैत्रमा सगरमाथा आरोहण गर्ने कार्यक्रम छ ।






