तरूण दल जलजलाको अध्यक्षमा प्रकाश पुन निर्वाचित: तरूण दललाई निर्भिक भएर काम गर्न युवा नेता मल्लको सुझाव

पर्वत/नेपाल तरूण दल जलजला गाउँपालिकाको अध्यक्षमा प्रकाश फकामी पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न नेपाल तरूण दलको जलजला गाउँपालिकास्तरीय भेलाले पुनको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । त्यसैगरि समितिको उपाध्यक्षमा विजय पुन र मनोहर आचार्य, महिला उपाध्यक्षमा टीका मल्ल, सचिवमा पूर्णबहादुर वरूवाल, कोषाध्यक्षमा चिरञ्जीवी सुवेदी र सहसचिवमा यामबहादुर केसीलाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, रूपक तिलिजा, दुर्गाबहादुर खत्री, माया केसी, जनक पौडेल, नारायण भुसाल, केन्द्र सुवेदी, रमेश रेग्मी, बुद्धिबहादुर परिवार, रविन हमाल, कुलबहादुर पुन, रामजी आचार्य, शिब आचार्य, सुरेन्द्र वरूवाल, कुशल मल्ल र वावुराम कार्की रहनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो । काँग्रेसका युवानेता समेत रहेका मल्लले तरूण दल पार्टीको रक्षक संगठन भएको वताउँदै पार्टीलाई परेका हरेक चुनौती र अप्ठ्याराहरुका विरूद्धमा डटेर सामना गर्न निर्देशन दिनुभएको थियो । मल्लले नेकपाका विभिन्न भातृ तथा शुभेच्छुक संगठनहरूमा पनि सरकारसँग जस्तै दुई तिहाइ दम्भको मात लागेको दावी गर्दै राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारको पक्षमा तरूण दलले खबरदारी गर्नुपर्ने बेला आएको वताउनु भएको थियो ।

काँग्रेस युवानेता मल्लले जलजला गाउँपालिकामा नेपाली काँग्रेसको संगठन दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै पार्टीका हरेक संयन्त्रहरू क्रियाशील गराएर जलजला काँग्रेसले गाउँपालिका मात्रै नभएर जिल्ला र केन्द्रमा समेत अलग्गै पहिचान स्थापित गर्न सक्नुपर्ने धारणा राख्नु भएको थियो । मल्लले नव निर्वाचित समितिलाई पूर्ण ईमान्दार र निडरताका साथ काम गर्न आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल तरूण दलका क्षेत्रीय अध्यक्ष एवं जलजला गाउँपालिकाका वडा नं ८ का वडा अध्यक्ष हरिविकाश जिसीले तरूण दल पार्टीको बलियो र प्रभावशाली शक्ति भएकोले पार्टीमाथि आइपर्ने हरेक चुनौतिहरूको तरूण दलले जिम्मा लिने प्रतिबद्धता जनाउनु भएको थियो । क्षेत्रीय अध्यक्ष जिसीले तरूण दलको नेतृत्वलाई निर्भीक र निडरताका साथ काम गर्न सुझाव समेत दिनुभएको थियो ।

सोही कार्यक्रममा तरूण दल जलजलाका नवनिर्वाचित अध्यक्ष प्रकाश फकामी पुनले आफू निर्वाचित भैसकेपछि युवा संघ र वाईसीएलका जुनसुकै ज्यादती विरुद्ध डटेर मुकाविला गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । अध्यक्ष पुनले पार्टी संगठनका प्रति पूर्ण निष्ठा र ईमान्दारिताका साथ लाग्ने र जलजलामा नमूना तरूण दल बनाउने सपथ खानु भएको छ ।

त्यसैगरि सोही वैठकले मोहित मल्ललाई नेपाल तरुण दल क्षेत्रीय समिति पर्वतको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छभने विशाल अधिकारी, सुवास जिसी, इन्द्र मल्ल, ओमप्रसाद शर्मा, मानबहादुर कार्की, रामकुमार कार्की र दीपक पुनलाई क्षेत्रीय कार्यसमितिमा मनोनित गरिएको नेपाल तरूण दलका क्षेत्रीय अध्यक्ष हरिविकाश जिसीले जानकारी दिनुभएको छ । जलजलाबाट तीनजनालाई तरूण दल जिल्ला कार्यसमितिमा मनोनितका लागि सिफारिस गरिने समेत वताइएको छ ।