महाशीलामा चितुवा खोरमै पसेर ७ वटा बाख्रा मारेपछि गाउँभरि त्रास

पर्वत/महाशिला गाउँपालिका–१ होश्राङदीमा चितुवाको आतंक बढ्दै गएको छ । विहिबार राति करिब २ बजेको समयमा चितुवा बाख्रा खोरमै पसेर स्थानीय कृषक मनसिङ गुरुङले पालेका ७ वटा बाख्रा मारेपछि गाउँभरि त्रास फैलिएको छ।

स्थानीयका अनुसार चितुवाले रातको समयमा खोरमा पसेर एकै पटक ७ वटा बाख्रा नष्ट पारेको हो । बिहान खोर हेर्न जाँदा बाख्राहरू मरेको अवस्थामा फेला परेपछि घटना सार्वजनिक भएको थियो । यसबाट कृषक गुरुङलाई ठूलो आर्थिक क्षति पुगेको छ । बाख्रा पालनलाई मुख्य आम्दानीको स्रोत बनाएका गुरुङका लागि यो घटना गम्भीर आर्थिक आघात बनेको स्थानीयले बताएका छन् ।

पछिल्लो समय महाशिला गाउँपालिकाका विभिन्न बस्तीमा चितुवा गाउँ नजिकसम्म आउन थालेको स्थानीयको भनाइ छ । जंगल नजिकका बस्तीमा विशेष गरी साँझ र रातिको समयमा चितुवा देखिन थालेपछि पशुचौपायाको सुरक्षालाई लिएर कृषकहरू चिन्तित बनेका छन् । यसअघि पनि विभिन्न स्थानमा बाख्रा तथा अन्य चौपाया चितुवाको आक्रमणमा पर्ने घटना हुँदै आएका कारण स्थानीयमा थप त्रास बढेको छ ।
घटनापछि स्थानीय कृषकहरूले सम्बन्धित निकायसँग चितुवाको आतंक नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् । चितुवाको नियमित आवतजावत हुने क्षेत्रमा निगरानी बढाउने, आवश्यक परे नियन्त्रण वा सुरक्षित व्यवस्थापनको पहल गर्ने तथा पीडित कृषकलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न उनीहरूको माग छ ।

स्थानीयवासीले वन क्षेत्र नजिकका बस्तीमा वन्यजन्तुको जोखिम बढ्दै गएको भन्दै वन कार्यालय, डिभिजन वन कार्यालय तथा सम्बन्धित निकायले समयमै ध्यान नदिए अझ ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन् ।
यता महाशिला गाउँपालिकाले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाले बाख्रा पालन गर्ने कृषकलाई बजार व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले बिक्री वितरणमा प्रति केजी २५ रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रमले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न सहयोग पुगेको भए पनि पछिल्ला दिनमा चितुवाको बढ्दो आतंकले कृषकको लगानी र उत्साह दुवैमा असर पार्न थालेको गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए ।