जथाभाबी टाँगिएका विद्युतीय तार र राखिएका होर्डिङ बोर्डका कारण कुरूप बन्दै कुश्मा बजार

पर्वत/ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र कुस्मा बजार पछिल्लो समय अव्यवस्थित विद्युतीय इन्टरनेट तथा केबुलका तार र जथाभाबी राखिएका होर्डिङ बोर्डका कारण कुरूप बन्दै गएको छ । पर्यटकीय सम्भावना बोकेको कुस्मा बजार विश्वकै अग्लामध्येको बन्जी जम्प, जिपलाइन र विभिन्न झोलुङ्गे पुलका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ तर बजार क्षेत्रका सडक किनार, चोक र विद्युतीय पोलमा झुन्डिएका तारका जन्जालले सहरको सौन्दर्यमाथि प्रश्न उठाएको छ ।

बजारका विभिन्न स्थानमा विद्युत्, इन्टरनेट र केबुल सेवाप्रदायकका तार एउटै पोलमा अव्यवस्थित रूपमा झुन्डिएका देखिन्छन् । कतिपय स्थानमा पुराना तथा प्रयोगविहीन तारसमेत हटाइएको छैन । यसले बजारको दृश्य मात्र बिगारेको छैन सुरक्षा जोखिमसमेत बढाएको छ । कुस्मा बजारका सडक किनार र चोकमा मापदण्डविपरीत राखिएका होर्डिङ बोर्ड र विज्ञापन सामग्रीले समेत सहरको सौन्दर्य घटाएको छ । व्यवस्थित सहर निर्माणको लक्ष्य लिएको कुस्मामा यस्ता संरचनाको अनुगमन र व्यवस्थापन प्रभावकारी हुन नसकेको स्थानीयको भनाइ छ ।

स्थानीय व्यापारी माधवराज रेग्मीले कुस्मा बजारको सौन्दर्य जोगाउन सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुस्मा बजार जिल्लाकै प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र हो तर बजारका पोल पोलमा झुन्डिएका तार र जथाभाबी राखिएका होर्डिङ बोर्डले बजारको आकर्षण घटाइरहेका छन् । बाहिरबाट आउने पर्यटक र आगन्तुकले पहिलो पटक देख्ने दृश्य नै अव्यवस्थित हुँदा राम्रो सन्देश जाँदैन ।” रेग्मीले अव्यवस्थित तार र बोर्डले बजार कुरूप बनाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको उल्लेख गर्दै सम्बन्धित निकायले नियमित अनुगमन गरी अनावश्यक तार तथा होर्डिङ बोर्ड हटाउनुपर्ने माग गर्नुभयो । सरोकारवालाले विद्युत् तथा इन्टरनेटका तारलाई व्यवस्थित गर्ने, आवश्यक स्थानमा भूमिगत गर्ने र अव्यवस्थित होर्डिङ बोर्ड हटाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । अन्यथा पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको कुस्माको सुन्दर छवि क्रमशः धमिलो हुँदै जाने चिन्ता उनीहरूको छ ।

पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी. पौडेलले कुस्मा बजार क्षेत्रभित्र विद्युतीय पोलमा अव्यवस्थित रूपमा झुन्डिएका विभिन्न तार तथा होर्डिङ बोर्डका कारण बजारको सौन्दर्य दिनप्रतिदिन खस्कँदै गएको बताउनुभयो । उहाँले कुस्मा बजारका मुख्य चोक तथा व्यस्त स्थानमा विद्युतीय पोलमा जथाभाबी राखिएका इन्टरनेट, केबुल तथा अन्य तार र होर्डिङ बोर्डले बजारलाई कुरूप बनाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ । “यस्ता संरचनाले बजारको सुन्दरता मात्रै बिगारेका छैनन्, सर्वसाधारणको सुरक्षामाथि समेत चुनौती थपेका छन्,” उहाँले भन्नुभयो । कुस्मालाई साँच्चिकै आधुनिक, सुरक्षित र आकर्षक सहर बनाउने हो भने अहिले देखिएका तारको जन्जाल र अव्यवस्थित होर्डिङ बोर्ड व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले विद्युतीय पोलमा जथाभाबी तार र होर्डिङ बोर्ड राखिँदा व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ । उहाँका अनुसार नेपाल टेलिकमले सम्झौता गरेर पोल प्रयोग गरे पनि अन्य केही सेवा प्रदायक संस्था प्राधिकरणको सम्पर्कमा आएका छैनन् । “हामीले पटक पटक ताकिता गरेका छौँ । विद्युतीय पोल प्रयोग गर्ने सबै निकाय प्राधिकरणसँग समन्वय र सम्झौतामा आउनु पर्छ,” गुरुङले भन्नुभयो । उहाँले अनुमतिबिना पोलमा तार राख्ने कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै बजारको सौन्दर्य र सुरक्षालाई ध्यानमा राखेर तार व्यवस्थापनमा कडाइ गरिने बताउनुभयो ।