विहादी गाउँपालिका मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पर्वत/विहादी गाउँपालिका मा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम” सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष श्री परविन गुरुङको अध्यक्षतामा तथा उपाध्यक्ष श्री मिना शर्मा तिवारीको आतिथ्यतामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई प्रमाणित गर्दै सम्बन्धित वडाहरूलाई पूर्ण खोप सुनिश्चितता वडा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा बालबालिकालाई नियमित खोप सेवाको पहुँच सुनिश्चित गर्दै पूर्ण खोप अभियानलाई दीगो रूपमा सञ्चालन गर्न सबै सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। विहादी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै बालबालिकाको स्वास्थ्य संरक्षण र रोग नियन्त्रणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।