पर्वत/विहादी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश सरकारको “मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम” को सहयोगमा सञ्चालन गरिएको “स्थानीय कच्चा पदार्थ र सीपमा आधारित लघु उद्योग प्रवर्द्धन कार्यक्रम” अन्तर्गतको सीप विकास तालिम सम्पन्न भएको छ।
तालिमको समापन समारोह विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना तिवारी, वडा नं. ३ का अध्यक्ष गणेश शर्मा पौडेल, जनप्रतिनिधि, कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग गरी स्वरोजगार सिर्जना गर्न तथा उद्यमशीलता विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सहभागीहरू सफल उद्यमी बन्ने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष मिना तिवारीले स्थानीय उत्पादनलाई व्यवसायिक रूपमा विकास गर्न सके गाउँको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै महिलाहरू तथा युवाहरूलाई आत्मनिर्भर बन्न यस्ता सीपमूलक कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी वडा अध्यक्ष गणेश शर्मा पौडेलले तालिमले सहभागीहरूलाई आयआर्जनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सिकेका सीपलाई उत्पादन र बजार व्यवस्थापनसँग जोड्न आग्रह गर्नुभयो।
तालिम अवधिमा सहभागीहरूले हर्बल सरफ, साबुन तथा फिनाइल उत्पादन, साथै मैनबत्ती र अगरबत्ती निर्माण सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन्। स्थानीय रूपमा उपलब्ध कच्चा पदार्थको प्रयोग गरी गुणस्तरीय उत्पादन तयार गर्ने विधिबारे समेत प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवसायिक रूपमा उपयोग गरी स्वरोजगार सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
गाउँपालिकाले स्थानीय स्रोत, सीप र श्रमको उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






