कुश्मामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु

पर्वत/कुश्मा नगरपालिका–२ स्थित अर्मादी घुम्तीमा आज अपराह्न ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन्। दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा नगरपालिका–१ मालढुङ्गाका ४१ वर्षीय सुजन भण्डारी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनीहरूलाई प्रदेश अस्पताल कुश्मा, पर्वतमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट मालढुङ्गाबाट प्रहरी सहायक निरीक्षक रेशम सुनारको कमाण्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई नियन्त्रणमा लिई ट्रकसहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।