बिहादी गाउँपालिकामा महिला तथा किशोरीहरूका लागि उद्घोषण तालिम शुरू

पर्वत/बिहादी गाउँपालिकाको आयोजनामा महिला तथा किशोरीहरूका लागि उद्घोषण तालिम सुरु गरिएको छ । तालिम उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष परविन गुरुङले महिलाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी प्रस्तुति दिन सक्ने सीप विकासका लागि यस्ता तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाहरू समाज रूपान्तरणका महत्वपूर्ण आधार भएकाले उनीहरूको नेतृत्व विकासमा गाउँपालिकाले निरन्तर प्राथमिकता दिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना तिवारीले महिलाहरूले आफ्ना प्रतिभा र क्षमतालाई पहिचान गरी सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय सहभागिता जनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले उद्घोषण तथा बोल्ने कला व्यक्तित्व विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै तालिमबाट सहभागीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिमकी सहजकर्ता अधिवक्ता तथा पत्रकार सुस्मा पौडेलले उद्घोषण कला, सार्वजनिक बोलाइ, आत्मविश्वास अभिवृद्धि तथा सञ्चार सीपका विषयमा सहजीकरण गरिरहनुभएको छ । तालिममा सहभागी महिलाहरूलाई व्यावहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

बिहादी गाउँपालिकाले महिलाहरूको सशक्तीकरण तथा नेतृत्व विकासलाई लक्ष्य गर्दै विभिन्न क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।