पर्वत/ नेपाली काँग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत यतिखेर विभिन्न वडाहरूमा संगठन सुदृढीकरणका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । अभियानको प्रभावकारिता र कार्यकर्ताहरूको अभिमत बुझ्न पार्टी सचिव गुप्तनिधि शर्मा लगायतको टोलीले दक्षिणी पर्वतका विभिन्न वडामा पुगेर कार्यकर्ताको प्रतिक्रिया बुझेर कुश्मा फर्किएको छ । पार्टी सचिव गुप्तनिधि शर्माको नेतृत्वमा पार्टी सहसचिव तिलकप्रसाद भुसाल, जिल्ला कार्य समिति सदस्य ओमप्रसाद शर्मा घायल र लोकतान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष शिव शर्मा पौडेल सहभागी टोलीले महाशीला, पैयुँ, विहादी र फलेवासका विभिन्न वडाहरूमा पुगेर १०० दिने अभियानको प्रारम्भिक गतिविधिको विषयमा स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा स्थानीय कार्यकर्ताहरूले पार्टीको आन्तरिक एकता बलियो हुनुपर्ने, कुनैपनि दलसँग चुनावी गठबन्धन गर्न नहुने, नेतृत्वले पद र अवसर प्रदान गर्दा सबैलाई समान दृष्टिकोणले प्रदान गर्नुपर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यकर्ताको संरक्षण गर्नुपर्ने, आफूले गर्न नसक्ने आश्वासन जनतालाई दिन नहुने र नेताहरूले आफ्नो गुट र झगडाको गन्ध वडातहमा पुर्याउन नहुने लगायतका सुझावहरू राखेका थिए ।
भेटघाटका क्रममा पार्टी सचिव गुप्तनिधि शर्माले १०० दिने विशेष अभियानको मार्गचित्र र उद्देश्यको वारेमा वडा सभापतिहरूलाई जानकारी गराउनुभएको थियो । सचिव शर्माले पार्टी नेतृत्वको रूपान्तरण र संगठनको क्रियाशीलताको लागि केन्द्रदेखि जिल्ला र वडादेखि टोलसम्म सबै काँग्रेस कार्यकर्ता जिम्मेवार भएर संगठनको काम गर्नुपर्ने आवश्यकता रहेको वताउनु भएको थियो । यो अभियानले काँग्रेस भित्रको आन्तरिक एकतालाई मजवुत बनाउने, पार्टी नेतृत्व र जनप्रतिनिधि बीचको सम्बन्धलाई सुदृढ गर्ने, भातृ तथा शुभेच्छुक संघ संगठनहरुको गठन र कार्य सञ्चालनको अवस्थालाई प्रभावकारी बनाउने र संगठन निर्माणमा सबै नेता कार्यकर्ताको स्वामित्व र सहभागिताको अभिवृद्धि गर्ने अपेक्षा गरिएको सचिव शर्माको दावी छ ।
अभियानको लागि ६१ वटै वडामा जिल्ला प्रतिनिधिहरू परिचालन गरिएको छभने ती प्रतिनिधिहरूले पुष मशान्तभित्र वडातहको सांगठनिक अवस्थाको यथार्थ प्रतिवेदन तयार गरि जिल्ला कार्य समितिलाई अनिवार्य रुपमा बुझाउनुपर्ने पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो । सोही क्रममा पार्टी सहसचिव एवं नेपाली काँग्रेसका संगठन विभाग संयोजक तिलकप्रसाद भुसालले विभागको टोली समेत सबै पालिका र वडामा पुगेर काँग्रेसका सबै भातृ तथा शुभेच्छुक संघ संगठनहरुलाई गतिशील बनाउने प्रतिबद्धता जनाउनुभएको छ । अनुगमनका क्रममा विभिन्न वडाहरूमा क्रियाशील सदस्यताको नविकरण कार्ड समेत वितरण गरिएको थियो ।








