बानपा १३ पैयुँपाटामा संचालित एक हप्ते उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

बागलुङ/ बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटामा महिलाहरूको क्षमता विकासका लागि शुरू भएको एक हप्ते उद्घोषण तथा भाषण कला तालिम शुक्रबार सम्पन्न भएको छ । पैयुँपाटा सामुदायिक सिकाई केन्द्रको आयोजनामा चैत्र २५ गते देखि शुरू भएको तालिम समापनको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बागलुङ नगरपालिका वडा नं १३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलले बोल्ने कलाको विकासले समाजका धेरै क्रियाकलापमा नेतृत्व र व्यक्तित्व स्थापित गर्न सकिने भन्दै तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर शिक्षा समितिका सदस्य एवं नेपाली काँग्रेसका पैयुँपाटाका पार्टी सभापति चन्द्रबहादुर खत्रीले मानव जीवनमा उद्घोषण तथा भाषण कलाको विशेष महत्व रहेको वताउँदै एक हप्ते तालिमबाट प्राप्त ज्ञानलाई जीवनका हरेक आयामहरूमा उपयोग गर्न र सार्थक बनाउन सहभागी महिलाहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा पैयुँपाटा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुडामणि शर्माले सामुदायिक विकासका हरेक क्रियाकलापहरूमा महिलाहरूको नेतृत्व र व्यक्तित्व स्थापित गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत सिकाई केन्द्र मार्फत अरू तालिमहरु पनि संचालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक ओमप्रसाद शर्मा घायलले तालिमले महिलाहरूको क्षमता विकास र वाककलामा आमुल परिवर्तन आउने विश्वास व्यक्त गर्दै तालिममा सहभागी सबै महिलाहरूलाई आत्मविश्वासका साथ अघि बढ्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा अर्का प्रशिक्षक राम थापा अविरलले तालिमबाट महिलाहरूमा आत्मविश्वास जागृत भएको वताउनुभयो । तालिमको समापन समारोहमा सहभागीको तर्फबाट श्रृष्टि परियार र निर्मलाकुमारी शर्माले समेत बोल्नुभएको थियो ।

पैयुँपाटा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुडामणि शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष रेशमबहादुर खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सिकाइ केन्द्रका परिचालक दुर्गा शर्मा पौडेलले गर्नुभएको थियो ।