कुश्मा नगरपालिकाद्वारा ३० जना बालविकास सहजकर्तालाई तालिम

पर्वत/कुश्मा नगरपालिकाले बाल विकास केन्द्रहरुको सिकाइलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरेको छ । कुश्मा नगरपालिका सामुदायिक तथा संस्थागत बिधालयमा रहेका ३० जना वालविकास सहजकर्ता लाई तालिममा सहभागी गराइएको छ । आजबाट शुरु गरिएको तालिम ६ गतेसम्म चल्ने छ । वालविकास केन्द्रका सहजकर्ता लाई पाठयक्रम विकास केन्द्रले तयार पारेको पाठयसामाग्रीको प्रयोगमा सहज होस र स्थानीय स्तरमा पनि यस्ता सामाग्री उत्पादन गर्न सहयोग पुगोस भनेर कुश्मा नगरपालिकाले शैक्षिक सामाग्री निर्माण तथा प्रवोधीकरण तालिम आयोजना गरेको शिक्षा अधिकृत अर्जुन पौडेलले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकामा सामुदायिक विधालय तर्फ ६८ र संस्थागत विधालय तर्फ १४ गरि कुल ८२ वटा वालविकास सहजकर्ता रहेका छन । नगरपालिकाले पहिलो चरणमा कुश्मा नगरपालिका वडा नम्बर १ देखि ८ सम्मका वालविकास सहजकर्ता सहभागी भएको र दोस्रो चरणमा अन्य वडाका सहजकर्ता लाई तालिम दिइने पौडेलले बताउनुभयो । उक्त कार्यक्रमको उदघाटन गर्दै कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक इश्वर गिरीले वालविकास केन्द्रको सिकाइ लाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । कुश्मा नगरपालिकाले वालविकास सहजकर्ताको पारिश्रमिक बढाउने देखि केन्द्रका लागि आवश्यक सामाग्रीको व्यवस्थापनमा ध्यान दिएको भन्दै लगानी अनुसारको प्रतिफलको अपेक्षा गरेको बताउनुभयो । वालविकास सिकाइ केन्द्र शिक्षाको पहिलो जग भएकाले यस लाई प्रभावकारी बनाउने कुरामा नगरपालिकाले बढी जोड दिएको गिरिले बताउनुभयो ।

कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बिस्णुप्रसाद तिवारीले सरकारले आधारभुत तहदेखी १२ कक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था गरेको भन्दै सरकारको लगानी लाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । तिवारीले उत्साहका साथ तालिममा सहभागी भएर वालविकासको शिक्षा लाई प्रभावकारी बनाउन सहजकर्ताले तत्परता देखाएकोमा खुशी ब्यक्त गर्नुभयो । उक्त तालिमको सहजीकरण प्रशिक्षक कविता गौतम र शिक्षा शाखाका अधिकृत दिपक सुवेदी, अर्जुन पौडेल लगायतले गर्नुहुनेछ । तालिम उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासङघका अध्यक्ष सन्तोष थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रमको स्वागत शिक्षा अधिकृत अर्जुन पौडेलले गर्नुभयो भने सन्चालन दिपक सुबेदिले गर्नुभयो ।