स्थानीय करका कारण दसैंमा मासु महँगिदै

असोज, ८, पर्वत/ स्थानीय तहले लिने करका कारण विगतका बर्षहरुमा भन्दा मुस्ताङी च्याङ्गको मूल्य यसपालि बढ्ने भएको छ । दशैं नजिकिएसँगै हिमालपारिको जिल्ला मुस्ताङबाट भेडा च्यांग्रा हिँडाइए पनि पर्वतमा आइपुग्दा च्याङ्ग्राको मूल्य बढ्ने बुझिएको हो । व्यवसायीहरुले पर्वत, बागलुङ, पोखरा र आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै मुस्ताङको लोमान्थाङबाट २० हजार भेडा च्यांग्रा हिँडाएका हुन्।

मुस्ताङबाट हिँडाइएका भेडा च्यांग्रा जोमसोम र म्याग्दी हुँदै एक सातामा र पर्वत ल्यापु¥याइनेछन्। दशैंमा मासुका लागि मुस्ताङ्बाट झारिएका च्याङ्ग्रा उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ।

चिसो हावापानीमा जडिबुटी खाएर हुर्किएका मुस्ताङका च्यांग्राको मासु विकासे र भारतीय खसीको भन्दा बढी स्वादिलो हुने उपभोक्ताहरुको भनाइ छ।

उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने भएकैले २० हजारको संख्यामा भेडा च्यांग्रा हिँडाइएको व्यवसायीहरुले बताएका छन्। उनीहरुले यसपटक मुस्ताङमै एउटा च्याङ्ग्राको मुल्य २२ हजार देखि २५ हजार रुपैयाँसम्म परेको बताए।