सांसद लामाको परोपकारी काम देखेर वेलकोटगढीबासी दंग

पर्वत/जनताबाट निर्बाचित भएर संसदमा पुगेपछि धेरै जनप्रतिनिधिहरु घर बनाउने, गाडी चड्ने र विलासी जीवन बाँच्ने गर्दछन् । तर नेपालमै केही यस्ता पनि जनप्रतिनिधिहरु छन् जसले आफ्नो घर, परिवार, र व्यक्तिगत विलासिता भन्दा माथि उठेर आफूले पाएको पदीय सुविधालाई पनि समाजमै लगानी गर्छन् । यी मध्य एक हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तथा प्रतिनिधिसभा सदस्य बहादुर सिंह लामा ।

नुवाकोट जिल्लाका मनकारी सांसद लामाले राज्यबाट पाउने सबै सेवासुविधालाई गरीब तथा कम आय भएका गाउँ बस्ती र विद्यालयहरुमा समर्पण गर्दैआउनु भएको छ । सांसद लामाले आइतवार मात्रै आफूले पाउने सरकारी सुविधाबाट नुवाकोट जिल्लाको वेलकोटगढी–९ का तीनवटा विद्यालयका छात्राछात्राहरुलाई शैक्षिक सामग्री र कपडा वितरण गर्नुभएको छ ।

काँग्रेस नेता लामाले वेलकोटगढीका शिलासिता प्रावि, महामाया मावि र करुणाकर आमाविका छात्राछात्रहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । न्यानो कपडा वितरण गर्दै सांसद लामाले राजनीति पेशा नभई सेवा भएकोले आफूले पाउने राज्यको सुविधा समाजसेवामै खर्च गर्ने वताउनु भयो । उहाँले जनप्रतिनिधि भनेकै जनताको सुखदुखको साथी भएकोले जनताको समस्यालाई बुझेर राजनीति गर्नुपर्नेमा जोड दिनुभएको थियो । सांसद लामाको परोपकारी कर्मको वेलकोटगढीका धेरै स्थानीयले प्रशंसा गरेका छन् ।