वीपी स्मृति भवनको लागि तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ र जिल्ला अध्यक्ष राज मल्लद्वारा पाँचलाख सहयोग

पर्वत/जिल्लामा निर्माणाधिन वीपी स्मृति भवनको लागि नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण र नेपाल तरूण दल पर्वतबाट पाँच लाख सहयोग प्राप्त छ । नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले आज कुश्मामा आयोजित कार्यक्रममा वीपी स्मृति भवनको लागि आफूसहित तरूण दल पर्वतको तर्फबाट उक्त रकम सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

केन्द्रीय कोषाध्यक्ष गुरुङले नेपाली काँग्रेसको सांगठनिक र सस्थागत विकासका लागि तरूणहरूको सक्रियता आवस्यक रहेको भन्दै वीपी स्मृति भवन निर्माणका लागि काँग्रेसका भातृ तथा शुभेच्छुक संघ संस्थाबाट मन फुकाएर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । काँग्रेसका युवा नेता समेत रहेका गुरूङले वाम सरकारको दुई तिहाइको दम्भबाट देशमा अराजकता बढिरहेका बेला नेपाली काँग्रेसका सबै नेता तथा कार्यकर्तामा भावनात्मक एकताको आवस्यकता रहेको वताउँदै सांगठनिक अनुशासनको दायरामा रहेर नेकपा सरकारको ज्यादती विरुद्ध डटेर प्रतिवाद गर्न सबै तरूण युवाहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले आसन्न उप निर्बाचनमा काँग्रेसका उम्मेदवारलाई सहयोग पुग्ने गरि प्रचारात्मक अभियानमा लाग्न सबैमा अपिल समेत गर्नुभएको थियो ।

यसैगरि नेपाल तरूण दलका जिल्ला अध्यक्ष राज मल्ल तोरणले नेपाली काँग्रेसले निर्माण गर्न लागेको वीपी स्मृति भवनबाट पर्वतका सबै तरूण युवाहरु उत्साहित भएको दाबी गर्दै भवनको पूर्णताका निम्ती आफूहरु निरन्तर लागिरहने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष मल्लले काँग्रेस पार्टीभित्र एकअर्काको आलोचना गर्नेहरुलाई पहिलो गाउँ प्रवेशमा रोक लगाउन तरुणहरूलाई आग्रह गर्नुभएको थियो ।