पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आजभन्दा दुईबर्ष अघि परिकल्पना गरेको उत्तरी पर्वतकोे हम्पालको लेकको सिमसार क्षेत्रको विकासले सार्थकता प्राप्त गर्ने भएको छ । जलजला गाउँपालिका वडा नं ६ स्थित सिमसार क्षेत्रमा विहिवार आयोजना गरिएको उच्चस्तरीय अध्ययन अवलोकन भ्रमणमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्साल र प्रतिनिधिसभा सदस्य पदम गिरी सहितका नेताहरुले जलजला क्षेत्रको समग्र विकासका लागि यसैबर्षदेखि काम शुरु गर्ने प्रतिवद्धता जनाएपछि जलजला सिमसार क्षेत्रको डिपिआर तयार गरि काम शुरु गरिने भएको हो । समुद्र सतहदेखि तीन हजार तीन सय मिटर बढी उचाईमा रहेको यो क्षेत्रमा १२ सय मिटरको ताल निर्माण गर्ने, आकर्षक रिसोर्टहरु संचालन गर्ने र निलकण्ठेश्वर महादेवको मन्दिरको पुनःनिर्माण गरि धार्मिक पर्यटकलाई आकर्षित गर्ने र केवलकार तथा पदमार्ग निर्माण गर्नेगरि परियोजनाको डिपिआर यसैबर्ष तयार गरि अर्को आर्थिक बर्षमा काम शुरु गर्ने सबै नेताहरुले सामुहिक प्रतिवद्धता जनाएको थिए ।
जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संगमस्थल मानिने जलजलाको सिमसार क्षेत्रको विकास दुवै गाउँपालिका र समग्र पर्वतकै आर्थिक समृद्धिको सूचक भएकोले दुवै गाउँपालिकाको सामुहिक सक्रियता आवस्यक रहेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वताउनु भयो । ‘म पहिलोपटक यस क्षेत्रमा आएँ यो संसारकै रमणीय र आकर्षक भूगोल रहेछ यसको वृहत्तर विकासका लागि आस्था, विचार सबैभन्दा माथि उठेर काम गरौं, यो पर्वतको गौरव हो ।’– अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका वन, वातावरण र पर्यटन मन्त्री विकास लम्सालले जलजला क्षेत्रको विकासका लागि दुई गाउँपालिको प्रस्तावपत्र आएमा मन्त्रालयबाट डिपिआरका लागि यसैबर्ष रकम दिन सकिने र अर्कोबर्ष निर्माण शुरु गर्न सकिने वताउनु भयो । ‘सबैले आ–आफ्नो तर्फबाट योगदान गरौं जलजला विकासको ‘ड्रिम प्रोजेक्ट’ सफल हुन्छ यो पर्वत जिल्लाको आर्थिक समृद्धको सूचक हो ।’– मन्त्री लम्सालले भन्नुभयो । त्यसैगरि प्रतिनिधिसभा सदस्य पदम गिरीले केन्द्र सरकार र पर्यटन बोर्डबाट रकम विनियोजन गर्न आफू पूर्ण प्रतिवद्धताका साथ लाग्ने वताउनु भएको थियो ।

कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले तीन हजार तीनसय मिटर उचाईमा रहेको यो क्षेत्रमा ताल निर्माण सहित अन्य भौतिक पूर्वाधारहरु निर्माण गर्न सकेमा विश्वका पर्यटकको ध्यान तान्न सकिने दावी गर्नुभयो । ‘खासगरी यति उच्च भेगमा १२ सय मिटर ठुलो ताल बनाउन सकेमा यहाँ बिश्वभरका पर्यटकको ध्यान तानिनेछ, र पर्वत पर्यटनको हव बन्नेछ ।’– अध्यक्ष मल्लले भन्नुभयो । सोही कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले समेत दुई गाउँपालिकाको संगमस्थलमा रहेको जलजला क्षेत्रको विकास सिंगो पर्वतको भाग्य र भविस्यसँग जोडिएकोले आफ्रूहरु पूर्ण प्रतिवद्धताका साथ यसको विकासका लागि लाग्ने दावी गर्नुभएको थियो । कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले समेत यस आकर्षक ठाउँ आफूले अहिलेसम्म नदेखेको वताउनु भएको थियो ।
जलजला गाउँपालिकाका अध्यक्ष तथा परियोजनाका परिकल्पनाकार यामबहादुर मल्ल (रामकृष्ण)को सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र कार्यक्रमको संचालन जलजला गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा जलजला सिमसार क्षेत्रको विकासमा सरोकार राख्ने तिनसय जनाभन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।







