नेकपा सरकारको कारण लोकतन्त्रमाथि खतरा बढेको काँग्रेस युवा नेता मल्लको टिप्पणी

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विकास निर्माणमा पार्टी राजनीति भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका मल्लले आज नेपाली काँग्रेस वनौले आयोजना गरेको विजयादशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो ।

अध्यक्ष मल्लले जलजला गाउँपालिकाले जनतालाई दिने सेवा र अवसरमा कुनै आग्रह पूर्वाग्रह नराखी काम गरेको दावी गर्दै सबै स्थानीय तहको प्राथमिकता जनताको विकास र समृद्धिका लागि हुनुपर्ने वताउनु भयो । ‘लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सिंहदरवारको अधिकार गाउँमा जनताले पाउनु पर्नेमा जनतालाई सुशासन, अवसर र अधिकारको अनुभूति दिलाउन सकिएको छैन ।’-अध्यक्ष मल्लले भन्नुभयो । अध्यक्ष मल्लले नेकपा सरकार चुनावअघि जनतालाई सपनाको व्यापार गरेर सत्तामा पुगेपनि अहिले महंगी, भ्रष्टाचार, अन्याय, अत्याचार र बलात्कारको चङ्गुलमा फसेको आरोप लगाउनु भयो । उहाँले नेकपा सरकारको यही अन्याय, अहंकार र दम्भका कारण लोकतन्त्रको आयुनै
समाप्त हुने खतरामा रहेको धारणा समेत राख्नुभएको थियो । काँग्रेसका युवा नेता मल्लले लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको सही कार्यान्वयन गर्नका लागि स्थानीय सरकारलाई शक्तिशाली र अधिकार सम्पन्न गराउनुपर्ने वताउँदै केन्द्र र प्रदेश सरकारको हस्तक्षेपकारी भूमिका आफूहरुलाई मान्य नहुने धारणा राख्नुभएको थियो । नेपाली काँग्रेस पर्वतको राजनीतिमा निकै प्रभावशाली भूमिकामा रहेका मल्लको सांगठनिक सक्रियताका कारण जलजलामा काँग्रेसको पल्ला भारी हुँदैगएको स्थानीयको दाबी छ ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका महिला नेतृ तथा जलजला गाउँपालिका उपाध्यक्ष सीमा गर्बुजा पुनले सबै महिलाहरूलाई उद्यमशीलता र आय आर्जनमा लाग्न सुझाव दिनुभएको थियो । उपाध्यक्ष गर्बुजाले महिलाहरु सबल र सक्षम नभएसम्म मुलुकको आर्थिक विकास र समृद्धि सफल नहुने धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री , जलजला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, नेपाली काँग्रेस जलजला वडा नं ३ का सभापति सोभियत बरुवाल, नेपाली काँग्रेस वनौका पूर्व सभापति कुलबहादुर पूर्जा र पूर्व गाविस अध्यक्ष बलबहादुर पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य टकमाया पुन र कार्यक्रमको संचालन तरूण दल वनौका अध्यक्ष अमर पुनले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा र राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरी २५ जना व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा देविमाया चोचाङ्गी, अशोक चोचाङ्गी, जालमाया फगामी, गौमाया फगामी, टेकबहादुर पुर्जा, दलबहादुर चोचाङ्गी, दिलबहादुर फगामी मगर, अशोक फगामी मगर, बमबहादुर फगामी मगर, श्रीप्रसाद फगामी मगर, टेकबहादुर फगामी, देविमाया चोचाङ्गी, तिलक पूर्जा, माया गर्वुजा, नीरबहादुर पूर्जा र मनबहादुर फगामी रहेको नेपाली काँग्रेस जलजलाका युवा नेता तथा जलजला गाउँपालिकका राजनीतिक सल्लाहकार यम शर्मा पौडेलले जानकारी दिनुभयो ।