पर्वत/गाउँमा युवा छैनन् । बढ्दो बसाईसराई र वैदेशीक रोजगारीले गाउँ खाली बन्दै छ । खेतबारी बाझिँए । जंगल बढेर घरसम्मै पुगेको छ । युवा पस्ताले खेतबारी हेरेनन् तर वर्षौंदेखि त्यही खेतबारीको उब्जनीमा जीवन धानेका वृद्धवृद्धालाई भने बाँझो खेत राख्न पटक्कै मन छैन् । तर अहिले खेतबारीमा लगाएको बाली भने पहिले पहिले जस्तो पाकेर भित्राउन निकै कठिन छ । घरसम्मै पुगेको जंगलको बाटो बाँदर भान्सामै पुग्छ । खेतबारीमा लगाएको बाली कतिबेला मास्छ थाहै हुँदैन् ।
सेतै फुलेको कपाल, शिरमा ढाकाको टोपी, जस्ताले छाएको सानो छाप्रो, हातमा गुलेली, नजिकै कालो भोटेकुकुर बिहानको सडक छेउमा एक्लो बुढ्यौली तर बथानमा आउने बाँदरबाट फाँटभरीको मकै जोगाउनुपर्ने जिम्मेवारी । यो दृष्य हो बागलुङको जैमिनी नगरपालिका–१, कुश्मिसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको ।
उनी हरेक बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सडक छेउको छाप्रोमा कुकुर र गुलेलीसहित देखिन्छन् । बाँदरको आतंकले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा यस्तै ‘जिम्मेवारी’मा खटिँदै आएका छन् । ‘बाँदर आयो भने म बुढोलाई टेर्दैन्, कुकुर देखे केही पर जान्छ गुलेलीसँग डराउँछ,’ पाध्याले भने, ‘बथानमा आयो भने त कुकुरलाई पनि टेर्दैनन् ।’
सिरुबारीको गैराबारी खेतमा उनको करिब सात मुरी मकै फल्ने जमिन छ । वरपरका छिमेकीका खेतबारीमा पनि राम्रो उत्पादन हुन्छ । उनको खेत अलि छेउमा परेको हुँदा बाँदर आतंकबाट मकै जोगाउन लक्ष्मीदत्त नै अग्रसर हुनुपर्दछ । पछिल्ला चार–पाँच वर्षदेखि बाँदरको बथानले खेतमा पाक्न लागेको अन्नबाली सखाप पार्न थालेपछि लक्ष्मीदत्त मात्र होइन यहाँका अन्य किसानलाई पनि हैरानी भएको छ ।
पाध्याका अनुसार, बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ । ‘मिहिनेत गरेर लगाएको बाली र फलफूल आँखा अगाडि सखाप बनाउँदा मन रुन्छ,’ उनले भने । मकै उम्रिएपछि नै बाँदरले लुछ्न थाल्छ अनि पहरा लगाउनु नै प¥यो, एकछिन छाड्ने हो भने सबै विध्वंस बनाउँछ । ‘कुन दिशाबाट आउँछ पत्तो नै हुँदैन, हामीलाई त हैरानी बनाएको छ,’ लक्ष्मीदत्तले भने ।
बाँदरले बिहान सबेरैदेखि साँझसम्म खेतबारीमा पुगेर दुःख दिन्छ । त्यसैले श्रीमान–श्रीमतीले खाना खाने समयसमेत पालो मिलाउनुपर्छ । एकजना खेत हेर्न बस्दा अर्कोले खाना खान्छ । ‘खाना खाने बेला पनि ढुक्क छैन,’ उनी भन्छन्, ‘कुकुरले संकेत गर्छ, बाँदर आयो भनेर । ठुलो बथान आयो भने एक्लै धपाउन पनि सकिँदैन, बाँदरकै कारण कुकुर पाल्नुपरेको छ ।’ उनले एउटा गाईको बाच्छालाई भन्दा बढी अन्नपानी दिएर कुकुर पाल्नुपरेको सुनाए ।
केही वर्ष पहिले नजिकैको भडार गाउँबाट सिरुबारी सरेका लक्ष्मीदत्तको परिवारमा अहिले श्रीमान् श्रीमती र जेठो छोरा मात्र गाउँमा छन् । अन्य छोराहरू परिवारसहित बसाइँसराइ गरेर अन्यत्र गइसकेका छन् । गाउँका धेरै घर पनि यस्तै गरी रित्तिएका छन् । उनी भने गाउँ छोड्ने पक्षमा छैनन् । ‘जति दुःख भए पनि जन्मेको गाउँ छोड्दिन,’ उनले भने ।
पछिल्ला समयमा गाउँ घरवरिपरि खेतबारीमा समेत रुखहरू भरिँदै जाँदा बाँदर आतंक झनै बढ्दै गएको स्थानीयको भनाइ छ । यस क्षेत्रमा बढ्दो बसाइ सराइको प्रभावसमेत रहेको हुँदा खेतीयोग्य जमिन बाँझो हुँदै गएको र रुख बुट्यानहरू बढ्दै गएका कारण बाँदरले झन् खुला अवसर पाएका छन् ।
सिरुबारी र आसपासका क्षेत्रमा बाँदर आतंक अहिले किसानका लागि सबैभन्दा ठुलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् भने कतिपय उत्पादन हुने आशा नगरी पनि बाध्यतावश खेती गरिरहेका छन् ।
जैमिनी नगरपालिकाका सबै वडामा बाँदर आतंकले हैरानै बनाएको छ । स्थानीय तहका जनप्रतिनिधि होस् वा अन्य सबैका मुद्दा नै बाँदर आतंक कम गर्ने बन्छन्, तर केही नीति तथा कानुनी अप्ठ्याराले भने यो सहज नभएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् । जैमिनी नगरपालिकाले चार वर्ष पहिले नै बाँदर नियन्त्रणका लागि जैमिनी नगरपालिका–८ मा रहेको पुरानो गाउँको जंगलमा बाँदर बगैँचा बनाउनका निम्ति सम्भावना अध्ययन गरेको थियो । नगरपालिका र गण्डकी प्रदेशको तत्कालीन पर्यटन तथा वन मन्त्रालयबाट केही रकम छुट्टिएर संरचनासमेत बनाउने तयारी भयो । तर, त्यो योजना सफल हुन धेरै समय लाग्ने अनुमान गरिएको छ ।
‘नगरपालिकाले २७ करोडको डिपिआर तयारी गरेर केही काम पनि अगाडि बढायो । विभिन्न अध्ययन र योजना तयार गरिएको छ । तर, ठुलो रकम लाग्ने कानुनी समस्याका कारण समस्या भइरहेको छ,’ उपप्रमुख शर्माले भने । उनले बाँदरलाई निश्चित क्षेत्रमा केन्द्रित गर्ने अवधारणासहित पर्यटकीय पूर्वाधार निर्माणको डिपिआर तयार गरिएको बताए । पुरानो गाउँको पल्लो भागमा ‘बाँदर बगैँचा’ निर्माण गर्ने, रंगशालालगायतका संरचना बनाउने र बाँदरका लागि आवश्यक खानेकुरा तथा पानीको व्यवस्थापन गर्ने योजना बनाइएको थियो । ‘बाँदर व्यवस्थापनका लागि करिब २०–२५ हजार बाँदरलाई लक्षित गरी अवधारणा अघि सारिएको थियो, पानीका लागि पोखरी निर्माण गर्ने योजना पनि थियो,’ शर्मा भन्छन्, ‘तर, कानुनी जटिलताका कारण काम अघि बढ्न सकेन ।’
बाँदर आतंककै कारण जैमिनीका केही बस्तीहरू नै बसाइ सराइको प्रभावमा परेका छन् । खेतमा बाली लगाउनेभन्दा त्यसलाई जोगाउन बढी समय खर्चिनुपर्ने अवस्था छ । राज्यका विभिन्न निकायले समाधान खोज्ने आश्वासन दिए पनि किसानले अहिलेसम्म राहतको अनुभूति गर्न पाएका छैनन् ।






