काठमाडौं /बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्ना निवास तथा कार्यालयमा गरिएको छापामारीप्रति असन्तुष्टि जनाउँदै अनुसन्धान प्रक्रियामा भने पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले राज्यका निकायले आवश्यक ठानेमा आफू स्वयं उपस्थित भई सहयोग गर्न सधैं तयार रहेको अवस्थामा अकस्मात् छापा मारिएकोप्रति आपत्ति जनाएका हुन् ।
“संवैधानिक र कानुनी दायराभित्र रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ,” विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैध सम्पत्ति सम्बन्धी आशंकामा हेटौंडास्थित उनको घर तथा काठमाडौंको नक्साल र सुन्धारामा रहेका कार्यालयहरूमा छापा मारेको थियो । उक्त कारबाहीपछि मुख्यमन्त्री बानियाँले आफू सुशासन, पारदर्शिता र मितव्ययिताको पक्षमा निरन्तर काम गर्दै आएको दाबी गरेका छन् ।
उनका अनुसार प्रदेश सरकारको कार्यसम्पादनमा खर्च नियन्त्रण, पारदर्शी बजेट प्रणाली र आवश्यकता आधारित योजना कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ, जसबारे आम नागरिक अवगत रहेको उनले बताएका छन् ।
राजनीतिक तथा व्यावसायिक जीवनबारे हुने अनुसन्धानलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले छापामारीको शैलीले आफ्नो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा असर परेको महसुस भएको बताएका छन् ।
यस्तै, उनले आफ्ना शुभेच्छुक र सर्वसाधारणलाई भ्रमित नहुन आग्रह गर्दै आफू सधैं जनताको सेवामा प्रतिबद्ध रहने स्पष्ट पारेका छन् । बानियाँ विगतमा निर्माण व्यवसायमा आबद्ध रहे पनि सार्वजनिक पदमा आएपछि उक्त व्यवसायबाट अलग भएको बताइएको छ ।







