पर्वत/कालीगण्डकी नदीको संरक्षण र बढ्दो दोहनविरुद्ध नव–निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले संयुक्त रूपमा आवाज उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा नदीको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाउन तत्काल कदम चाल्न सरकारसँग माग गरिएको छ ।
वक्तव्यमा कालीगण्डकीलाई विश्वकै एक मात्र यस्तो नदीका रूपमा उल्लेख गरिएको छ जहाँ दुर्लभ शालिग्राम शिला पाइन्छ। धार्मिक आस्थामा भगवान विष्णुको प्रतीक मानिने शालिग्रामले नेपालका धार्मिक तथा सांस्कृतिक पहिचानमा विशेष स्थान ओगटेको बताइएको छ। तर पछिल्लो समय नदीमा भइरहेको अनियन्त्रित उत्खननले यसको पारिस्थितिक सन्तुलन र सांस्कृतिक सम्पदामा गम्भीर असर पारिरहेको सांसदहरूको चिन्ता छ ।
सांसदहरूले नदी दोहनका गतिविधि नेपालका कानुनविपरीत रहेको भन्दै यस्ता कार्य तत्काल रोक्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणको अधिकार र धार्मिक स्वतन्त्रतामाथि समेत यसले असर पु¥याएको उल्लेख गरिएको छ ।
उनीहरूले कालीगण्डकी नदीलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग जोडदार माग गरेका छन् । आगामी संसद अधिवेशनमा यस विषयलाई औपचारिक रूपमा उठाई दीर्घकालीन संरक्षणका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
सांसदहरूले कालीगण्डकीको संरक्षणलाई आफ्नो नैतिक, कानुनी तथा संवैधानिक दायित्व भएको उल्लेख गर्दै यसबाट पछि नहट्ने स्पष्ट पारेका छन् । वक्तव्य जारी गर्ने सांसदहरूमा पर्वतबाट निर्वाचित सांसद सागर भुसाल, बागलुङ १ बाट निर्वाचित सांसद सुशील खड्का र बागलुङ २ बाट निर्वाचित सांसद सोम शर्मा छन् ।







