पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले यहि माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर माघ २० गते भित्र बुझाउन अनुरोध गरेको हो । द्वन्द व्यवस्थापन पछि गाउँ गाउँमा रहेका अबैध हतियारलाई बैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले विभिन्न प्रकृतिका ७५ थान हतियारलाई कानुनी दायरामा ल्याएर दर्ता गराएको छ ।
आगामी निर्वाचनको मिति घोषणा भएको र उक्त निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार इजाजत प्राप्त हातहतियारहरु निर्वाचन सम्पन्न भएको एक महिना पश्चात् उहाँहरुलाई नै फिर्ता गर्ने गरी हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरुसंँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु माघ २० गते भित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको उहाँको भनाई छ ।
हातहतियार दर्ता गराएर हरेक बर्ष नविकरण गर्नुपर्ने प्रावधान रहेपनि जिल्ला प्रशासन कार्यालय पर्वतमा नविकरणको यथेष्ट तथ्याङ्क भने छैन । नविकरण गर्दा जुनसुकै जिल्लाबाट पनि गर्न सकिने भएकाले नविकरणको विवरण अद्यावधिक हुन नसकेको कार्यालयले जनाएको छ । समयमै हातहतियार नबुझाउनेहरुलाई खोजतलास गरी कानून बमोजिम कारबाही प्रकृया अघि बढाउने चेतावनी पनि प्रशासनले दिएको छ ।






