पर्वत/जैमिनी नगरपालिकाले ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरीलाई प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्ष यता जन्मेका नगर भित्रका सबै छोरीलाई मुद्दती खाता खोलेको जैमिनी नगरपालिकाले जनाएको छ ।
जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत अहिले सम्म ४१ जना छोरीलाई मुद्दती खाता उपहार दिइएको छ । गत आर्थिक वर्षबाट शुरु गरेको कार्यक्रममा नगरपालिकाले ४१ जना छोरीको जन्मदर्तापछि मुद्दती खाता सञ्चालनमा ल्याएको छ भने चालु आर्थिक वर्षमा जन्मेका छोरीहरुको खाता खोल्न बाँकी रहेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । प्रत्यक छोरीलाई रु. दुई हजार पाँच सयका दरले नगरपालिकाको तर्फबाट खातामा जम्मा गरेर खाता उपहार प्रदान गरिएको शर्माको भनाई छ । उक्त मुद्दती खातामा चक्रिय व्याज आउनेगरी बैंकसंग समन्वय गरिएको छ ।
गत आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दासाथ दुई हजार पाँच सयको मुद्दती खाता उपहार दिने कार्यक्रम अघि सारेको थियो । नगरपालिकाले छोरीको सम्मान र उनीहरूको उज्ज्वल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दती खातामा सो रकम जम्मा गर्दै आएको छ । “छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रकृतिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याइएको थियो” शर्माले भन्नुभयो “गत वर्ष निर्देशिका बनाउन समय लाग्यो, केही छोरीहरु छुटेका समेत छन्, चालु आर्थिक वर्षमा गत आर्थिक वर्षदेखि यता जन्मेका नगरका सबै छोरीको मुद्दती खाता खोल्निछ ।”
छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्षअनुसारको रकम जम्मा गर्न आग्रह गर्दै आएको शर्माको भनाई छ । शर्माका अनुसार छोरीको उज्ज्वल आर्थिक भविष्यका लागि बचत गर्नका लागि अभिभावकलाई सिकाउन समेत यो कार्यक्रम फलदायी हुने शर्माको भनाई छ । बचतको महत्वसमेत अभिभावकलाई गराउने नगरपालिको अभियान अन्र्तगत पहिलो चरणमा दुई हजार पाँच सयको खाता खोल्ने कार्यक्रम भएको बताउदै जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले त्यही रकम भविश्यमा ठूलो बताउनुभयो ।
बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको जैमिनीले जन्मदर्ता समेत अनिवार्य रहेको भन्दै मुद्दती खाता उपहारले अभिभावकमा जन्मदर्ता गराउनुपर्ने जनचेतना जगाउने नगरप्रमुख पुनको भनाई छ ।






