बागलुङ /अरु समयमा सुनसान हुने गाउँमा दशैँमा रमाइलो हुन्छ। रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरू दशैँमा फर्कने चलन हुन्छ। तर बागलुङका केही ग्रामीण क्षेत्र दशैँमा पनि सुनसान छन्।
बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दशैँमा गाउँ सुनसान भएका हुन्। खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी चितवन, बागलुङ बजार, पोखरालगायतका ठाउँमा जानेहरु बढेपछि दशैँ सुनसान बनेका हुन्।
पाँच वर्ष अघिसम्म दशैँ मान्नका लागि शहर बजार र विदेशबाट आफन्तजनको हातबाट टीका ग्रहण गर्न आउने धेरै भए पनि अहिले गाउँमा फाट्टफुट्ट मात्रै आएको बागलुङ नगरपालिका–११ का तिलबहादुर थापाले बताए। पहिले रोजगारका सिलसिलामा विदेश छिरेका र अध्ययन तथा विभिन्न कामका लागि बजार गएकाहरु दशैँका बेला गाउँ आउँदा निकै चहलपहल बढ्ने गरे पनि अहिले सुनासन रहेको उनले बताए।
‘गाउँ त अब गरिब र दुःखीका लागि मात्रै हुने भयो, अरु बेला त गाउँ सुनसानै हुन्थ्यो तर दशैँको बेला भने धेरै मान्छे गाउँ आउँथे, अहिले दशैँमा पनि धेरै मान्छे गाउँमा आएनन्, आफन्तसँग जमघट हुँदा पो दशैँ आए जस्तो हुने रैछ, कोही नहुँदा त उराठ लाग्दो भएको छ, धेरैको घरमा ताला ठोकेका छन्, वरपरका छरछिमेकी बजार छन्, कोही विदेश छन्’, उनी भन्छन्।
गलकोट नगरपालिकाको अधिकांश गाउँ पनि यति बेला सुनसान छन्। गाउँका दुईचार घरको चुलोेमा आगो बले पनि धेरै घरमा झार पलाएका छन्। घरका बार्दली लेउले ढाकिएको र काठ मक्किएको गलकोट नगरपालिकाका वीरबहादुर नेपालीले बताए। धनीहरु सबै शहर पसेपछि अहिले गाउँमा गरिब वर्ग मात्रै रहेको उनले भनाइ छ। गाउँमा भएका सबै युवा विदेश पलायन हुँदा अहिले बुढाबुढी र केही बालबालिका बाहेक अरु कोही नभएको नेपालीले बताए।






