एक पछि अर्को सेवा विस्तार भएको पर्वत अस्पतालमा अब दन्त उपचार पनि

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले सकेसम्म एकै ठाउँबाट धेरै प्रकारका सेवाहरू प्रभावकारी रूपमा दिनका लागि दन्त रोगको विस्तारित सेवा सञ्चालनमा ल्याइएको बताए एकै व्यक्तिमा धेरै प्रकारका रोगहरू भएको अवस्थामा आउनेहरूले एउटा रोगको उपचार प्रदेश अस्पताल पर्वतमा गराएपछि दाँतको उपचारको लागि अन्य ठाउँमा जानुपर्ने बाध्यताले बिरामीलाई सास्ती भएको थियो। अस्पतालमा दन्त रोगको सामान्य प्रकारका उपचारहरू हुने भए पनि सम्पूर्ण सेवा उपलब्ध नहुँदा निजी क्लिनिकमा महँगो पैसा तिर्नुपर्ने अवस्थाको अब अन्त्य भएको गिरीको भनाइ छ।

‘दाँतको उपचार आफैँमा पनि महँगो हुन्छ। त्यसमा पनि निजी क्लिनिकमा पुगेर सेवा लिँदा बिरामीको धेरै रकम खर्च हुने गरेको छ’, उनले भने, ‘एक प्रकारको उपचार गर्न अस्पतालमा आएका बिरामी दाँतको उपचारको खोजीमा बाहिर जानु राम्रो होइन। अब हामीले सुलभ दरमा नै सेवा दिन सक्ने भएका छौँ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले अब दाँतसम्बन्धी सबै सेवाहरू अस्पतालबाटै प्रदान गर्न सकिने भएपछि नागरिकलाई सहज हुने बताए। सरकारी स्वास्थ्य सेवालाई प्रभवकारी बनाउँदै जनताको विश्वास पूरा गर्नको लागि प्रदेश अस्पतालले पछिल्ला दिनहरूमा धेरै सेवाहरू थप गरेको उनको भनाइ छ। सरकारी स्वास्थ्य संस्थालाई जिम्मेवार, सरल र सुलभ बनाउन सके मात्रै सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्ने डा बास्तोलाले बताए।

प्रदेश अस्पताल पर्वतलाई सकेसम्म समुदायसँग जोड्ने प्रयास भइरहेको छ। अस्पतालका सेवा तथा अन्य क्रियाकलापहरूको सुरुवात गर्दा विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गर्नुको सट्टा सकेसम्म स्थानीय व्यक्तिहरूबाटै उद्घाटन गराउने गरिएको छ। ज्येष्ठ नागरिक, महिला, मुस्लिम समुदायका प्रतिनिधिहरूले केही सेवाहरूको उद्घाटन गरेको अस्पतालमा दन्त रोगको विस्तारित सेवाको सुरुवात स्थानीय व्यवसायीहरू काशीकुमार जोशी, रघुनाथ अधिकारी र कृष्ण प्रसाद श्रेष्ठले  संयुक्त रूपमा गरेका छन्।

अब भने नागरिकले दाँत–मुखको परीक्षण, दाँतको एक्स–रे, दाँत सफा गर्ने, सेतो र टल्काउने, सास गन्हाउने समस्या, गिजाबाट रगत आउने, दाँतमा सिमेन्ट भर्ने, दाँत–मुखको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँतमा ‘क्याप’ लगाउने, भाँचिएका दाँत बनाउने, मुखको क्यान्सरको परामर्श लगायतका सेवाहरू प्रदेश अस्पताल पर्वतबाट पाउन सकिने भएको छ।