एक करोड ८० लाखको लगानीमा कुश्मामा खुल्यो नयाँ स्केट पार्क

पर्वत/ जिल्लाको कुश्मा स्थित बन्जी साइडमा नयाँ स्केटिङ पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् । पार्कको आज कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उदघाटन गर्नुभयो  ।

उद्घाटन पछि बोल्दै नगरप्रमुख जोशीले यो स्केट पार्कले यसमा रूची राख्ने खेलप्रेमीहरूलाई पूर्ण सन्तुष्टी दिने र शारीरिक स्वास्थ्यमा समेत फाइदा पुग्ने दाबी गर्नुभयो  । उहाँले  कुश्माको व्यवसायिक विकासमा समेत स्केट पार्कले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो  । उहाँले धेरै युवाहरु देश छाडेर  वैदेशिक रोजगारीमा गएको अवस्थामा पनि आफ्नै देशमा केही गरौं भनेर युवाहरूले शुरूवात गरेको यो स्केट पार्क र क्याफेले युवाहरुको  रोजगारीमा टेवा पुग्ने वताउनु भयो ।

भलिबलका राष्ट्रिय खेलाडी समेत रहेका लक्ष्मण श्रेष्ठ र जगदीश सुबेदीले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि विशेष ध्यानमा राखेर स्केट पार्क सहित पर्वत क्याफे एन्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताएका छन् । सञ्चालक श्रेष्ठ र सुबेदीले विदेशमा जाँदा खर्च गर्नुपर्ने लगानी र दुख आफ्नै ठाउँमा गर्न पाएकोमा बेग्लै खुसी र आनन्द मिलेको सुनाए ।

कुश्माको व्यापार व्यवसाय सुस्ताउँदै गएको भए पनि आफूहरूले चुनौती सामना गरेरै लगानी गरेको सञ्चालक लक्ष्मण श्रेष्ठले बताए । सुरक्षित र व्यवस्थित रूपमा स्केटिङ गर्न सकिने ठाउँ प्राप्त भएकोमा स्केटिङ प्रेमी खेलाडीहरूमा उल्लास छाएको छ । यस खेल युवाहरूका लागि रमाइलो मात्र नभएर शारीरिक व्यायाम र कलात्मक अभिव्यक्तिको पनि राम्रो माध्यम मान्न सकिन्छ ।