ऐतिहासिक भीमसेन मन्दिरको नगर प्रमुख जोशीद्वारा उद्घाटन

पर्वत/कुश्मा नगरपालिका ६ मा रहेको ऐतिहाँसिक भीमसेन मन्दिरको पुननिर्माण गरिएको छ । जिर्ण अवस्थामा रहेको उक्त मन्दिरको कुश्मा नगरपालिका, वडा कार्यालय र स्थानीय समूदायको चन्दा सहयोगबाट पुननिर्माण गरिएको हो । २०३७ सालमा स्थानीय नेवार समूदायले निर्माण गरेको मन्दिर जिर्ण अवस्थामा रहेको बेला नयाँ स्वरुपमा मन्दिरको पुननिर्माण भएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिश श्रेष्ठले जानकारी दिनुभयो । यो मन्दिर कुश्मा नगरपालिकाबाट ५ लाख ,कुश्मा नगरपालिका ६ बाट १ लाख र वडा नम्बर ५ बाट ५० हजार र केहि रकम उपभोक्ताहरुको तर्फबाट संकलन गरि कुल ६ लाख ५० हजारमा निर्माण गरिएको हो । अहिले पनि उपभोक्ता समिति संग २ लाख रुपैयाँ ऋण रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार अव मन्दिरको अगाडी पटि भूई ढलान, ट्रष्ट, शौचालय, तारजाली लगाउने काम बाँकी रहेको छ ।

पुननिर्माण भएको उक्त मन्दिरको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । नगरप्रमुख जोशीले धार्मिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा राज्य संगै समूदायले पनि योगदान गर्नुपर्ने बताउनुभयो । भिमसेन मन्दिर ऐतिहाँसिक मन्दिर रहेको भन्दै जोशीले यसको संरक्षण बाट ईतिहाँस पनि जिवित रहने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नेवार समूदायको मात्रै नभएर मन्दिर सबै समूदायको साझा सम्पत्तिको रुपमा प्रयोग र संरक्षण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कुश्मा वडा नम्बर ५ का वडाध्यक्ष रामहरी शर्मा, वडा नम्बर ६ का अध्यक्ष ईश्वर गिरी, पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरी, भिमसेन मन्दिर निर्माण समितिका सल्लाहकारहरु विषमकुमार श्रेष्ठ र ईन्द्रप्रसाद श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रम सञ्चालन सचिव चेतप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।