राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वरा दक्षिणी पर्वतको वहाकी वहुमुखी क्याम्पसको नयाँ भवन उद्घाटन

पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संबिधानमा लेखेका सबै मौलिक हक कार्यान्वयन गर्न मुलुक सम्बृद्ध बन्नुपर्ने कुरामा जोड दिनुभएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं। ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको नबौ बार्षिकोत्सब समारोहको समापन तथा नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुक सम्बृद्ध भएपछि सबै मौलिक हक कार्यान्वयन गर्न सकिन्छ भन्नुभयो । ‘शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ तर राज्य बलियो नभए सम्म सबै अधिकार उपभोग गर्ने अबस्था छैन’ उहाँले भन्नुभयो‘ देश आर्थिक रुपमा सम्बृद्ध भयो भने सबै लेखिएका सबै अधिकार उपभोग गर्ने वातावरण बन्छ ।’ उहाँले देशलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि तीनै तहका सरकारहरु लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले कर संकलनको दायरा बढाउन सकेमा र भ्रष्टचार तथा अनियमितता रोक्न सकेमा मुलुक सम्बृद्ध बन्न सक्छ भन्नुभयो ।

अहिलेको शिक्षा ब्यबसायिक र प्राबिधीक जनशक्ति उत्पादन गर्ने खालको नहुँदा बेरोजगारी बढेको भन्दै शिक्षालाई ब्यबसायिक बनाउनुपर्ने कुरामा उहाँको जोड थियो । मुलुकका लागि दक्ष प्राबिधीक उत्पादन गर्ने शिक्षा निति आबश्यक भएको उहाँको भनाई छ । अध्यक्ष तिमिल्सिनाले कृषि उत्पादनमा ब्यबसायिकरण र आधुनिकीकरण गरेमा मात्रै देश सम्बृद्ध हुने बताउँदै भौतिक पुर्बाधारको बिकास संगै देश आत्मनिर्भर बनाउन र आयत प्रतिष्थापन गर्नुर्पछ भन्नुभयो ।
फरक प्रसंगमा उहाँले आगामी चार वर्ष भित्र पर्वतका सवै वडा कार्यालयसम्म कालोपत्रे सडकको पहुँच पुग्ने र प्रत्येक घरमा खानेपानी धाराको व्यवस्था हुने बताउनुभयो । उहाँले पोखरादेखि सिँधै पर्वतको शालिग्राम शिला जोड्ने सडक निर्माण सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफु तत्कालीन जिल्ला विकास समितिको सभापति हुँदादेखिनै जिल्लाको समग्र विकासमा सक्रिय रहेको बताउँदै पर्वतवासीका चाहाना र आवश्यकता पुरा गर्न हरसम्भव लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संविधानसभाका सदस्य गुणाखर बस्यालले देशको शत्रुको रुपमा रहेको गरिबी र अशिक्षा तथा पछौटेपन हटाउँने काम अबको प्रमुख चुनौती हो भन्नुभयो । नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले नेकपा नेतृत्वको सरकारले देशलाई सम्बृद्ध बनाउने खाका तयार पारेको बताउँदै सरकारले नेपाली जनताले अनुभुत गर्ने गरि परिर्वतन गरेर देखाउने दाबी गर्नुभयो । कार्यक्रममा पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, पब्लिक क्याम्पस संघ पर्वतका अध्यक्ष गोबिन्द पहाड िलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वहाकी वहुमुखी क्याम्पसका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । क्याम्पसको वर्तमान अवस्था र भावी कार्यक्रमको बारेमा क्याम्पस प्रमुख एकनारायण भट्टराइले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राष्ट्रभक्ति झल्किने विभिन्न सांस्कृति प्रस्तुतीहरु पनि राखिएको थियो ।