जलजलाको स्वास्थ्य शिविरमा चारसय ९६ जनाको निःशुल्क उपचार

पर्वत/जलजलामा शनिवार भएको स्वास्थ्य शिविरमा चारसय ९६ जनाको निःशुल्क उपचार गरिएको छ । जलजला गाउँपालिकाको आर्थिक सहयोग, गंगालाल राष्ट्रिय ह्दय केन्द्र बाँसवारीको प्राविधिक सहयोग र मल्लाज रिसोर्टका संचालक मुकुन्द मल्लको व्यवस्थापनमा भएको उक्त शिविरको उद्घाटन जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो । शिविर उद्घाटनपछि बोल्दै अध्यक्ष मल्लले आर्थिक अभावमा रोग सहेर बस्न बाध्य भएका गाउँपालिकाभित्रका मुटु रोगी तथा स्त्री तथा प्रसुतिका विभिन्न बिरामीहरुलाई शिविरले ठूलो राहत मिलेको वताउनु भएको थियो । अध्यक्ष मल्लले देशमा संघीयता आएपनि राम्रो उपचार पाउन र राम्रो शिक्षा लिन राजधानी नै धाउनुपर्ने बाध्यता अझै नहटेको बताउँदै प्रत्येक नागरिकको स्वास्थ्यको ग्यारेण्टी राज्यले गर्नुपर्ने र त्यसका लागि स्वास्थ्य निःशुल्क र सर्वसुलभ हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा गंगालाल राष्ट्रिय ह्दय केन्द्र बाँसवारीका बरिष्ट मुटुरोग विशेषज्ञ तथा टोली प्रमुख डा. रवि मल्लले स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति भएको वताउँदै रोग कुनैपनि रोगको समयमै उपचार गर्न बिरामीहरुलाई आग्रह गर्नुभएको थियो । डा. मल्लले आगामी केही महिनाभित्र योभन्दा ठूलो शिविर कुश्मामा गर्ने आफ्नो लक्ष्य रहेको समेत जानाकारी गराउनु भएको थियो । जलजला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्र भण्डारी (रवि)को सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिका वडा नं २ का वडाअध्यक्ष तथा गाउँपालिकाका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास संयोजक गोविन्द खत्रीले गर्नुभएको नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव जीतबहादुर पुन (मगरकान्छा)ले जानाकारी दिनुभयो ।